नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १७ जनामध्ये अब अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ५ अभियुक्तको मात्र बयान लिन बाँकी छ।
बुधबार थप चार जनाको बयान सकिएसँगै अदालती बयान दिनेको संख्या १२ पुगेको हो। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बयान अन्तर्गत बुधबार (जेठ १७ गते) प्रतिवादी गोविन्द चौधरी, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी र रामशरण केसीले बयान दिएका हुन्।
यसअघि मंगलबार (जेठ १६ गते) अभियुक्तहरू इन्द्रजित राई, नरेन्द्र केसी र सन्देश शर्मासँग बयान लिइएको थियो। यस्तै जेठ १४ गते सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टंक गुरुङको बयान लिइएको थियो।
अदालतमा बयान सुरु गरिएको दिन जेठ १२ गते अभियुक्तहरू केशव दुलाल र सागर राईले बयान दिएका थिए।
अब हिरासतमा रहेका १७ जनामध्ये अदालतमा बयान दिन ५ जना मात्र बाँकी छन्। जसमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल र हज समितिका अध्यक्ष शमशेर मिया छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ