शनिबार, चैत्र २८, २०८२

हनि हण्टिङमा पुस्ता हस्तान्तरण


कान्तिपथ


पोखरा । पर्यटकीय आकर्षणको रुपमा रहेको हनि हण्टिङ जस्तो साहसिक कार्यमा विगत ३५ वर्ष देखि लाग्दै आउनु भएको उमनाथ गौतम पछिल्लो समयमा खुसि हुनु हुन्छ । केही बर्ष पहिला हनि हण्टिङ गर्दा सामान्य रुपमा दैनिक २ हजार रुपैयाँमा भिरमा डोरीको सहायताले भिर मौरीको मह काढ्ने गर्नु भएको गौतमले हाल पहिलाको तुलनामा अत्यधिक धेरै एक सिजनमा ३५ हजारसम्म शुल्क: लिन पाउँदा खुसि हुनुहुन्छ । 

जेठ असारको महिना आफ्नो बर्ष भरी खाने धानवाली लगाऊ नै छाडेर गाउँको परम्परागत रुपमा चल्दै आएको हनि हण्टिङ कार्यक्रम माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ को समन्वयनमा यस बर्ष हुन लागेकोले यसपाली पनि जोखिम मोलेरै मह काढेको गौतमले बताउनु भयो । उमेरले ६२ बर्ष पुग्नु भएको उहाँ भिर मौरीको पूजा पाठ गरी मौरी भगाउन आगोको धुला लगाएर भिरको माथिल्लो भागबाट भर्‍याङ (डोरी र डन्डीको भर्‍याङ) को सहायताबाट मौरी भएको स्थानमा पुगेर मह निकाल्दा गीतसँगै गुनगुनाउँदै मह काढ्ने गर्नु हुन्छ । 

माछापुच्छ्रे गाउँपालिका स्थित तल्लो सिदिङका गौतमका छोरा चिम नारायण गौतमले आफ्नो बाबुले गर्दै आएको हनि हण्टिङको सहासिक कार्यमा विगत ४ बर्ष देखि लाग्दै आउनु भएको छ । माछापुच्छ्रेको मर्दी हिमाल नजिक करिब १ सय मिटर अग्लो काप्रे भिरमा डोरीको सहायतामा भर्‍याङमा चढेर उमनाथले परम्परागत औजारको सहायताबाट मह काढ्नु भएको छ । भर्‍याङ सहित स्थानीय तोथ्रो, दाविल्लो, टोकरी, डोरीको सहायतामा भिर मौरीको मह निकाल्नु भएको हो । दुई दिन नै लगातार पानी परेको कारण यस बर्ष उक्त भिरमा रहेका १८ घार मध्य १४ वटा घारबाट मात्र करिब ६० लिटर मह निकालिएको चिम नारायण गौतमले बताउनुभयो । 

पहिला पहिला सामान्य रुपमा हनि हन्टिङ गर्दा मह काढ्ने व्यक्तिहरूलाई २ हजार देखि ३ हजारसम्म दिने गरेको अवस्थामा करिब ७ वर्ष अघि स्व. सुदिप पौडेलले उमनाथको कामको उच्च मूल्याङ्कन गर्दै एकै पटक १० हजार हौसला स्वरूप दिएसँगै गौतम परिवारले मह काढ्दा अर्को बर्ष देखि न्यूनतम २५ हजार देखि ३५ हजारसम्म पाउन थाल्नु भएको छ । अहिले एक सिजनमा मह काढेको गौतम परिवारले मह काढ्ने सामाग्री सहित ३५ हजार रुपैयाँ सम्म लिने गर्नु हुन्छ । आफूहरूको सहासिक पूर्ण कामको हिजोआज मात्र केही मूल्याङ्कन हुन थालेको उमनाथले हामीलाई बताउनु भयो । आफ्नो गाउँको पहिचानको र अचुक औषधिको रुपमा प्रयोग हुँदै आएको भिर मौरीको महको पछिल्ला वर्षमा मूल्य पनि पर्न थालेको चिम नारायणले बताउनुभयो । केही बर्ष प्रति लिटर २ हजारमा बिक्री हुने उक्त मह हिजोआज भने प्रति लिटरको ७ हजारसम्म पर्ने उहाँले बताउनुभयो ।  

परम्परागत रुपमा वर्षको दुई पटक जेठ र असोजमा प्रायः विधि पूर्वक दिन समेत हेराई पूजापाठ गरेर मात्र त्यहाँ हनि हन्टिङ गर्ने कार्यक्रम सञ्चालन हुँदै आएको माछापुच्छ्रे ९ का वडा अध्यक्ष हरि बहादुर क्षेत्री (राजेन्द्र) ले बताउनुभयो । चालु आर्थिक वर्षमा वडाबाट हनि हन्टिङ कार्यक्रम सहित बाटो मर्मत संहारको लागि वडाबाट मात्र एक लाख रुपैयाँ मात्र विनियोजन भए पनि उक्त रकम निकै न्यून भएको बताउनु भयो ।। माछापुच्छ्रे ९ तल्लो सिदिङदेखि काप्रे भिरसम्म पुग्न निकै कठिनपूर्ण र जोखिमपूर्ण मुर्दि खोला खोलै उत्तर तर्फ लाग्नु पर्ने वडा अध्यक्ष राजेन्द्रले बताउनु भयो । ठुलो भिर र काप्रे भिरको बाँकी रहेको मह अब असोजमा काढ्ने भएको उहाँले बताउनु भयो । 

यस मौसमको  जङ्गलमा प्राकृतिक रुपमा फुल्ने विभिन्न फुलहरूका कारण र भौगोलिक रुपमा पनि अझ यो बढी उचाइमा रहेको कारण यसलाई  लाग्ने महको रुपमा पनि लिइन्छ । आइतबार मह काढ्ने समयमा सुरुको एक घण्टा जसो मौरीले केही समय तनाव दिएको र सहभागी अधिकांशलाई मौरीले समेत टोकेको कार्यक्रम संयोजक अमृत तामाङले बताउनु भयो । भिर मौरीको चाका खानु भएको अमृत आफै लट्ठिएर स्थानीयले उहाँलाई सिदिङ सम्म ल्याउनु भएको थियो । लाखौँको सङ्ख्यामा रहेका मौरीको घार भन्दा तल्लो भागमा आगोको धुला लगाए पछि मौरी भागाभाग भए पछि घार भन्दा बाहिर (चरन) मा गएका मौरीले कहिलेकाहीँ टोक्ने गरेको स्थानीयले बताउनुहुन्छ । वडा अध्यक्ष राजेन्द्रले उक्त कार्यक्रम पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने दाबी गरेका गर्नु भएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत