दुर्गा आचार्य
काठमाडौँ- राज्यले आमनागरिकको हित, कल्याण एवं विकासका लागि विनाभेदभाव सार्वजनिक सेवा प्रवाह गर्नुपर्छ । अझ यसमा स्थानीय तहको हात बलियो हुन्छ र स्थानीय तहले चाहे जनताले छिटो, छरितो तथा कम खर्चिलो ढङ्गले सेवा पाउँछन् ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले नगरपालिका अन्तर्गतका सम्पूर्ण शाखाहरूलाई एउटै भवनमा एकीकृत गरी सेवा प्रवाहलाई सरलीकरण र व्यवस्थित गरिएको छ । नगरपालिकाले कार्यालयबाट सम्पादन हुने दैनिक सेवा प्रवाहलाई थप नतिजा मुलक तथा प्रभावकारी बनाउन आन्तरिक व्यवस्थापन कार्यलाई सरलीकरण गरेको छ ।
सेवाग्राहीहरूलाई सेवा सम्बन्धी जानकारी दिनका लागि नागरिक वडापत्रको व्यवस्था गरिएको छ । साथै नगर कार्यपालिकाको प्रवक्ता, सूचना अधिकारी र गुनासो सुनुवाइ अधिकारीसमेत तोकिएको छ । नगरपालिकाले जनताको गुनासो सम्बोधनका लागि छुट्टै सुनुवाइ अधिकारी राखेको छ ।
कार्यालयबाट सम्पादन हुने कार्यलाई विधि संवत् बनाउन आवश्यकताका आधारमा ऐन, नियमावली, निर्देशिका, नीति तथा कार्यविधिहरू निर्माण गरी कार्यान्वयनमा ल्याउने गरेको जनाएको छ ।
नगरपालिकाले कार्यालयबाट हुने दैनिक कार्य सम्पादनलाई जनमुखी र पारदर्शी बनाउनका लागि सि.सि.टि.भि.को माध्यमबाट प्रत्येक शाखाहरूको अनुगमन गर्ने व्यवस्था मिलाएको छ । कर्मचारीहरूलाई समयमै कार्यालय उपस्थित हुनका लागि विद्युतिय हाजिरीको व्यवस्था गरेको छ । कार्यालयबाट सम्पादन हुने कार्यलाई विधि संवत् बनाउन आवश्यकताका आधारमा ऐन, नियमावली, निर्देशिका, नीति तथा कार्यविधिहरू निर्माण गरी कार्यान्वयनमा ल्याउने गरेको छ ।
सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागिता मुलक बनाई त्यसको प्रतिफल सर्वसाधारणलाई उपलब्ध गराउन कानूनको शासन, भ्रष्टाचार मुक्त र चुस्त प्रशासन, आर्थिक अनुशासन तथा स्रोतको छिटो व्यवस्थापन जस्ता अशल शासनका आधारभूत मान्यतालाई आत्मासाथ गरी सर्वसाधारणले पाउनुपर्ने सेवा सुविधा छिटो, छरितो तथा कम खर्चिलो ढङ्गबाट पाउने अवस्था सृजना र सुशासनलाई आत्मसाथ गर्दै काम गरेको नगरपालिकाले दाबी गरेको छ ।
योजना तथा कार्यक्रमको भुक्तानी कार्य विद्युतिय भुक्तानी प्रणाली (EFT)मार्फत् समयमै गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको खरिद तथा विक्री सम्बन्धी कार्यहरू सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली २०६४ तथा प्रचलित कानून बमोजिम विद्युतिय बोलपत्र, सिलबन्दी दरभाउ पत्रलगायतका माध्यमबाट गर्दै आएको छ ।
उक्त नगरपालिकामा यसअघि ढड्डाबाट हुँदै आएको थियो । तर हालका मेयर कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ निर्वाचित भएर आएदेखि त्यसलाई व्यवस्थित गरेर विद्युतिय प्रणालीमा आबद्ध गरिँदैछ । सार्वजनिक सेवा प्रवाहलाई विद्युतिय प्रणालीमा आबद्ध गर्नका लागि नेपाल दुरसञ्चार प्राधिकरणको सहयोगमा नगरपालिका अन्तर्गतका सबै वडा कार्यालयहरू, स्वास्थ्य केन्द्र र सामुदायिक विद्यालयहरूमा द्रुत गतिको अप्टिकल फाईबरको इन्टरनेट जडान कार्य भइरहेको नगरपालिकाको भनाई छ ।
त्यस्तै नगरपालिकाले जग्गाको वर्गीकरण गरी सो सम्बन्धी सिफारिस गर्ने काम सम्बन्धित वडालाई अधिकार दिएको छ । ‘नगरपालिकाको १४ वटै वडामा रहेको जग्गाहरूको नगर स्तरीय भू-उपयोग परिषद्बाट कृषि योग्य र गैर कृषि योग्य जग्गामा वर्गीकरण गरी सो सम्बन्धी सिफारिस गर्ने कार्य गर्नका लागि सम्बन्धित वडालाई अधिकार प्रत्यायोजन गरेका छौँ’ मेयर सापकोटाले भने ।
उनकाअनुसार नगरपालिकाबाट सञ्चालित योजना तथा कार्यक्रमहरूको भुक्तानी गर्दा नगरपालिकाले चरणबद्ध रुपमा अनुगमन गर्ने गरेको छ । अनुगमन गरेर मुल्याङ्कनपछि मात्रै भुक्तानी दिने गरेको उनको भनाई छ । त्यसैगरी नगरपालिकाले हाँसिल गरेका उपलब्धीहरूलाई सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम त्रैमासिक रुपमा स्वत प्रकाशन मार्फत् नगरपालिकाको आधिकारिक वेवसाईटबाट प्रकाशन गर्ने गरिएको छ ।
त्यस्तै शिक्षा क्षेत्रमा सामाजिक परीक्षण गर्दै आएको र स्वास्थ्यलगायत अन्य क्षेत्रमा समेत सामाजिक परीक्षणको कार्य भई रहेको जनाएको छ ।
स्थानीयस्तरमा बजेट प्रतिफलमुखीभन्दा पनि आफू अनुकुल लैजाने बढी चलन रहेको सुशासन क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका वरिष्ठ पत्रकार हरिबहादुर थापा बताउँछन् ।
‘बजेटकै कुरा गरौँ । बजेट लैजाँदा पनि राजनीतिक पार्टीहरूले प्रतिफलमुखीभन्दा पनि आफू अनुकुल लैजान्छन् । र, उक्त बजेट प्रतिफलमुखी होइन् कार्यकर्तामुखी भएको छ । प्रतिफलमुखी योजना उक्त बजेट हाल्न सकियो भने नागरिकलाई फाइदा हुन्छ । तर कार्यकर्तामुखी बजेटले कार्यकर्तालाई मात्र फाइदा हुन्छ’ वरिष्ठ पत्रकार थापाले भने ‘बजेट भनेको एउटै त हो । मन्दिर बनाउन लैजाने कि विद्यालय बनाउन ? स्वास्थ्य चौकी बनाउन लैझाने कि अरु नै बनाउन लैजाने हो त्यो चैँ वाच गर्नुपर्छ । त्यो वाच गर्ने बानी हामी नागरिकमा पनि अलि कम छ । बजेट प्रतिफलमुखी बनाउनेभन्दा पनि अलिकति माहौल कसरी हुन्छ पपुलिस्ट निर्णयहरू गराइदिने चलन छ । तर पपुलिस्ट निर्णय क्षणिक हुन्छ, त्यसले फाइदाको काम गर्दैन् ।’
उनका अनुसार कतिपय पालिकामा नागरिकका परीक्षणदेखि गुनासो सुनुवाइसम्मका कुराहरू हुन्छन् । ‘जस्तै योजना तर्जुमा आम नागरिकको भनाई राख्नुपर्छ । योजना तर्जुदेखि कार्यन्वयन हुँदै धेरै ठाउँमा सुनुवाइको प्रक्रियाहरू चाहिन्छ । नागरिकको सुनुवाइ भयो भने उनीहरूको चाहना अनुरुप उनीहरूले पनि आफ्नो प्रतिनिधित्व गरेको छ भन्ने देखाउनु पर्यो विकास निर्माणको हकमा’ उनले भने ‘त्यस्तै सेवागाह्रीको हकमा सिस्टम बनाउनु पर्यो । हामी कहाँ त्यो डेभलप भएको पाइँदैन् ।’
कर्मचारीले सहजै हुने काम पनि नगरेको खण्डमा नागरिकले क्षतिपूर्तिको पनि दाबी गर्न पाउने अधिकार भएको थापाले बताए । कर्मचारीले काम गरेनन् भने सेवाग्राही त्यसलाई सामान्य रुपमा लिएर हिँड्ने गरेको उनको भनाई छ । ‘नागरिक वडापत्रमा अलि हेरिएको छैन । क्षतिपूर्तिसहितको वडापत्र भन्ने छ । जस्तो कि नागरिक सेवा लिन गयो सेवा पाएन भने क्षतिपूर्ति दाबी गर्न सक्छ । तर हामी कहाँ नागरिक पनि त्यस्तो छैनन् । यदी कर्मचारीले काम गर्देनन् भने हामी त्यसलाई सामान्य रुपमा लिन्छौँ’ थापा भन्छन् ‘काम गरिदिने कर्मचारीको दायित्व हो । यदी कानुन बमोजिम हुने काम गरिदएनन् उसले क्षतिपूर्ति तिर्नुपर्छ । कतिपय अवस्थामा कुन निकाय हो त्यो निकायले पनि कतिपय अवस्थामा तिर्नुपर्छ । कतिपय अवस्थामा त्यो निकायमै गढबढीको कारणले पनि जनताको काम हुँदैन् । ‘ कर्मचारीहरूमा पद्धति परिवर्तन भए पनि प्रवृति अझै परिवर्तन नआएको थापाको भनाई छ । ‘कतिपय कुराहरू चैँ हामीकहाँ आएका छैनन् । कतिपय नागरिकलाई थाहा नभएर आएका छैनन् भने कतिपय कर्मचारीलाई पनि हिजोको जे थियो त्यही नै हो भन्ने छ । पद्धती परिवर्तन भयो प्रवृति परिवर्तन भएको छैन । प्रवृति परिवर्तन नभएको कुरा नागरिकहरूले उठाउन सकेका छैनन्’ उनले भने ।
विगतमा चौतारा नगरपालिकामा आर्थिक गतिविधि लुकाउनेसम्मको काम गरिन्थ्यो । तर पछिल्लो समय पारदर्शी ढंगले भएको देखिन्छ । तर कर्मचारी बलमिच्याइ भने नरोकिएको एक सेवाग्राही बताउँछन् । जस्तो कि कोटेशनको काम आ-आफ्नो मान्छेलाई दिने गुनासो आउने गरेको छ । हजार काम राम्रो गर्दा पनि एउटा नराम्रो काम त्यो राम्रो कामलाई पनि नराम्रो बनाउन सक्छ । नगरपालिकाले यसलाई सच्याउन जरुरी छ ।
सुशासन र सेवा प्रवाहको क्षेत्रमा नगरपालिकाले सकारात्मक सुधार गर्दै आए पनि कतिपय अवस्थामा प्रशासकीय अधिकृत लामो समयसम्म बिदामा बसिदिनु, अनुगमनको नाममा सेवा प्रभावित नै हुनेगरी कर्मचारीहरूले हुनेगरि कार्यालय छाडेर हुल बाँधेर जानु, अन्य आमन्त्रित कार्यक्रमहरुमा मेयर वा उपमेयर एक जना मात्र गए पुग्ने ठाउँमा दुवै जना हल बाँधेर जानुले फेरि सेवा प्रवाह र सुशासनमा प्रश्न उठेको छ । यो प्रश्नलाई पनि पालिकाले सही ढंगले सम्बोधन गर्नुपर्ने देखिन्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ