शुक्रबार, चैत्र २७, २०८२

राहदानी विभागले पाँच हजारमा पासपोर्ट उपलब्ध गराउने


कान्तिपथ


काठमाडौँ ।राहदानी विभागले सेवाग्राहीलाई यही असार ३ गतेबाट लागू हुने गरी ६६ पृष्ठको राहदानी सम्बन्धित जिल्लाबाट लिन चाहेमा रु पाँच हजारमा उपलब्ध गराउने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले रु १० हजारमा उपलब्ध गराउँदै आएको राहदानी यही असार ३ गते आइतबारदेखि रु पाँच हजारमा उपलब्ध गराउने भएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सम्बन्धित जिल्लाबाट राहदानी लिएको खण्डमा रु पाँच हजार लाग्ने र राहदानी विभागबाट लिन चाहेमा रु १२ हजार लाग्नेछ ।” यसैगरी हराएको र बिग्रिएको राहदानीको हकमा विभागबाट लिन चाहेमा रु १७ हजार तथा जिल्लाबाट लिन चाहेमा रु १० हजार लाग्नेसमेत प्रवक्त सापकोटाले जानकारी दिनुभयो ।

गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानीबराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरेको थियो । यसअघि राहदानी विभागले जिल्ला प्रशासन कार्यालयबाट ‘फ्रिक्वेन्ट फ्लायर’ (समय–समयमा विदेश गइरहने) लाई ६६ पृष्ठको राहदानी रु १० हजारमा सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको थियो । राहदानी विभागले आज ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालय र विदेशस्थित सबै नेपाली नियोगलाई परिपत्र गरेर राहदानी दस्तुरसम्बन्धी जानकारी गराइएको जनाएको छ ।

आज पत्राचार गरिएको उक्त परिपत्रमा मन्त्रिपरिषद्को निर्णयअनुसार ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर ३४ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर सरह कायम गर्ने गरी संशोधन गरिएको र यही असार ३ गते आइतबारदेखि संशोधित दस्तुर लागु गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत