शुक्रबार, चैत्र २७, २०८२

हेटौँडा उपमहानगरपालिकाद्वारा २ अर्ब ६० करोडको बजेट प्रस्तुत


कान्तिपथ


मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले आज आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । 

हेटौँडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाको अध्यक्षतामा आज बसेको १३औँ नगरसभामा उपमेयर राजेश बानियाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।

उपमहानगरपालिकाले असार १० गतेभित्र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था अनुसार चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको समीक्षा गर्दै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेको हो । 

उपमहानगरपालिकाले कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य र खेलकुदलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको नीति, कार्यक्रमको कार्यान्वयनका लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार ८ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । 

आगामी आर्थिक वर्षमा उपमहानगरले आन्तरिक श्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार ७० रुपैयाँ, राजश्व बाँडफाँडबाट ५९ करोड १४ लाख १० हजार ७ सय ३० रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र संघीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ व्यहोरिने नगर उपप्रमुख राजेश बानियाँले प्रस्तुत गर्नुभएको नीति, कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ । 

उपमहानगरले पूर्वाधार विकासतर्फ १ अर्ब रुपैयाँ, आर्थिक विकासतर्फ ११ करोड ७६ लाख, सामाजिक विकासतर्फ ९२ करोड ९२ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७ करोड १५ लाख रुपैयाँ, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ४ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नीति, कार्यक्रम र बजेट प्रस्तुतपछि नगर सभाका सदस्यलाई अध्ययनको समय दिएर पास गरिने उपमेयर बानियाले बताउनुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत