म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा चालू आर्थिक वर्षको ११ महिनामा विकास बजेट ६१.७८ प्रतिशत खर्च भएको छ ।
पुँजीगततर्फ रहेको कुल २९ करोड ३७ लाख ३८ हजार रुपैयाँ बजेटमध्ये १९ करोड ४७ लाख ३३ हजार रुपैयाँ ( ६१.७८) खर्च भएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले सार्वजनिक सुनुवाई जानकारी दिनुभयो ।
करिब एक महिनामा ३८ प्रतिशत विकास बजेट खर्च गर्नुपर्ने देखिएको छ । म्याग्दीमा स्थानीय तह, संघ र प्रदेशका कार्यालयको असारमा बढी रकम भुक्तानी गरिने समस्या समाधान हुन सकेको छैन ।
बेनी नगरपालिकाले आज जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको २०८०÷८१ को नीति योजना कार्यक्रमको सुझाव सङ्कलन तथा चालू आर्थिक वर्षको तेस्रो चौमासिकसम्म भएका विकास र सेवा प्रवाह विषयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ढकालले कुल बजेटको ११ महिनामा ६८.९७ प्रतिशत नगरपालिकाले प्रगति गरेको जानकारी गराउनुभयो ।
नगरको कुल ७९ करोड १८ लाख १३ हजार रुपैयाँ बजेटको समग्रमा ६८.९७ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ ४९ करोड ८० लाख ७४ हजार रुपैयाँ बजेटमध्ये ३५ करोड ७२ लाख ६३ हजार रुपैयाँ (७१.७२) बजेट खर्च भएको उहाँले जानकारी गराउनुभयो ।
नगरपालिकाले जेठ मसान्तसम्म ४ करोड २६ लाख ७२ हजार १४० रुपैयाँ राजश्व सङ्कलन गरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो ।
नगरको चालू आर्थिक वर्षको कुल प्रक्षेपित राजश्व ४ करोड २३ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
बेनीमा बसाइ सरेर आउनेभन्दा जानेको सङ्ख्या धेरै
चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा बेनी नगरपालिकामा बसाइ सरेर आउनेभन्दा जानेको सङ्ख्या बढी छ ।
बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालका अनुसार तीन सय ५१ जना बसाइसराई गरी जाने रहेका छन् भने दुई सय १५ जना नगरभित्र बसाइ सरेर आएका छन् ।
नगरको घटना दर्ता तथा सामाजिक सुरक्षा तर्फबारे जनप्रतिनिधि, नगरबासी र सरोकारवालाको उपस्थितमा भएको सार्वजनिक सुनुवाइमा पछिल्लो ११ महिनाको अवधिमा तीन सय ६५ ले विवाह दर्ता, जन्मदर्ता सात सय ८५, सम्बन्ध विच्छेद ७२ जना, मृत्यु दर्ता दुई सय ४७ जनाले गरेका छन् ।
बेनी नगरले चालू आवमा ४ हजार ७ जनालाई कुल तीन करोड ६९ लाख ५६ हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता बापत वितरण गरेको छ ।
नगरबासीको उपस्थितमा गरिएको सार्वजनिक सुनुवाइमा नगरको विषयगत शाखाको प्रगति पनि सार्वजनिक गरिएको थियो ।
नगरप्रमुख सुरत केसीको अध्यक्षता, उपप्रमुख ज्योती लामिछानेको स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत ढकालले प्रगति प्रस्तुत गरेको कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ