पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब ६ महिनामा अन्तर्राष्ट्रिय हवाई उडान भएसँगै पोखरामा आएका चाइनिज पर्यटकहरूलाई पोखरामा भव्य स्वागत गरिएको छ । यही असार ८ र ९ गते पोखरामा आयोजना हुने ‘ड्रागन बोट रेस फेस्टिभल’ मा सहभागी हुन आएका खेलाडी सहितका चाइनिज पर्यटकलाई पोखरामा पन्चे बाजा सहित भव्य स्वागत गरिएको हो ।
फेष्टिभलमा सहभागी हुन चाइनाबाट एक टोली चाइनाको छेन्दुबाट ए ३१९ नम्बर सिचुवाङ एयरलाइन्स कम्पनीको आज जहाज करिब ३ः१५ मिनेटमा आएको हो । चाइनाको समय अनुसार बिहान ८ः१३ बजे उडेको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वबाट पश्चिम तर्फ अवतरण गरेको थियो । उक्त जहाजलाई पानीको फोहोराले स्वागत सहित सफा समेत गरिएको थियो ।

१ सय ३१ सिटे उक्त जहाजमा चालक दलका बाहेक ८४ जना यात्रु सवार भएका थिए । चाइनिज टोलीसँगै पोखरा आएका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पोखरामा अब नियमित रुपमा चीनका विभिन्न प्रान्तबाट हवाई उडान गर्न चार्टर्ड हवाई उडानले बाटो खुलेको बताउनुभयो ।
पोखराका पर्यटन व्यवसायी, पोखरेली सहितको टोलीले चाइनिज पर्यटकलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली ढाका टोली र खादा लगाएर स्वागत गरेको पोखराका मेयर धनराज आचार्यले बताउनुभयो ।







देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ