शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • दुर्घटना
  • बाढी पहिरोमा परेकालाई उद्धार कार्य तीव्र रुपमा भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

बाढी पहिरोमा परेकालाई उद्धार कार्य तीव्र रुपमा भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ


कान्तिपथ


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ताप्लेजुङ, सङ्खुवासभा र भोजपुरलगायतका जिल्लामा हालै आएको बाढीपहिरो पीडितहरूको खोजी, उद्धार, राहत वितरणको काम तीव्र रुपमा भइरहेको बताउनुभएको छ ।  

राष्ट्रियसभाको  दिगो विकास तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको बैठकमा मुलुकका विभिन्न भूभागमा हालै आएको बाढीपहिरोमा परेकाहरूलाई तत्काल उद्धार गरी पुनर्स्थापना गर्ने काम भइरहेको अवगत गराउनुहुँदै गृहमन्त्री श्रेष्ठले मनसुनजन्य विपद् प्रतिकार्यका लागि सरकारले  सुरक्षा निकायका साथै सडक विभाग, सिँचाइ, कृषि तथा स्वास्थ्य मन्त्रालयलगायतको समन्वयमा  आवश्यक उपकरणहरू तयारी अवस्थामा राखेको पनि  जानकारी गराउनुभयो । 

बैठकमा गृह मन्त्रालयका निमित्त सचिव महादेव पन्थले हालैको बाढीपहिरोबाट भएको मानवीय क्षतिसम्बन्धी जानकारी गराउनुभयो ।

निमित्त सचिव पन्थले  देशका विभिन्न भूभागमा हालै गएको बाढी पहिरोमा परी  १३ जनाको मृत्यु हुनुका साथै २६ बेपत्ता रहेका र आठ जना घाइते भएको बैठकलाई जानकारी दिनुभयो । 

बैठकमा सांसदहरुले बाढी, पहिरो, प्राकृतिक विपत्, राहत वितरण, जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सरकारले गरेका कामबारे जानकारी माग गर्नुभएको थियो । 

बैठकले बाढी पहिरोमा परेकाहरूको उद्धारसहित राहत वितरण तथा जोखिम व्यवस्थापनतर्फ प्राथमिकताका साथ काम गर्न गृह मन्त्रालयलाई निर्देशन पनि दिएको छ । 

बिहीबार बसेको राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा भएको छलफलमा भाग लिँदै पन्थले सो जानकारी दिनुभएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत