पोखरा । पोखरामा आज (शुक्रबार) देखि सुरु भएको चाइना नेपाल फ्रेण्डसिप ड्रागन बोट रेस प्रतियोगितामा पहिलो दीनको खेलबाट ४ टोली फाइनल चरणमा प्रवेश गरेका छन्। नेपालका ४ र विदेशका ४ गरी ८ टिम बिच आज भएको दुई चरणको प्रतिस्पर्धाबाट २ टोली नेपालका र २ टोली चाइनाको फाइनल चरणमा प्रवेश गरेका हुन् ।
सिचुवाङ ड्रागन समूह, युनान ड्रागन समूह र नेपालको नेपाल र्याफ्टीङ एण्ड क्यानोइङ एशोसियसन (एनआरसीए) र नेपाल एसोसियसन अफ र्याफ्टीङ एजेन्सिज (नारा) फाइनल चरणमा प्रवेश गरेको प्रतियोगिताका प्राविधिक प्रमुख मिन बहादुर मगरले बताउनु भयो । आज २ सय र ५ सय मिटरको दुई÷दुई चरणको प्रतिस्पर्धा भए पनि दुवै तर्फको विधामा ४ टोली नै छनौट भएको उहाँले बताउनु भयो । २ सय मिटरमा सिचुवाङले १ मिनेट ४८ सेकेन्ड र ५ सय मिटरमा भने ४ मिनेट ३८ सेकेण्डमा उक्त दुरी पार गर्दै फाइनल चरणमा यात्रा बनाएको हो । त्यसै गरी नाराकोले २ सय मिटरको दुरी १ मिनेट ५३ सेकेण्डमा पार गरेको थियो भने ४ मिनेट ४७ सेकेण्डमा ५ सय मिटरको दुरी पार गर्दै फाइनल चरणमा यात्रा सुनिश्चित गरेको हो ।
यूनानको टोलीले २ सय मिटरको दुरी १ मिनेट ५५ सेकेण्डमा र ५ सय मिटरको दुरी भने ४ मिनेट ५३ सेकेण्डमा पार गर्दै फाइनल चरणको यात्रा पक्का गरेको हो । एनआरसीएले २ सय मिटरको दुरी १ मिनेट ५६ सेकेण्डमा र ५ सय मिटरको दुरी ५ मिनेट २ सेकेण्डमा पुरा गरी फाइनल चरणमा प्रवेश गरेको हो।

चाइना नेपाल फ्रेण्डसिप, पोखरा महानगरपालिका, सिंगापुरको जि.एस.ड्रागन समूह र फेवा डुङ्गा व्यवसायी सङ्गठनको टिम पहिलो दिनको प्रतिस्पर्धाबाट बाहिरिएका हुन् ।
प्रतियोगितामा विजेता हुने टिमलाई जनही ५ लाख ५० हजार पुरस्कार प्रदान गरिने भएको पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले बताउनु भयो । उक्त प्रतियोगितामा पुरस्कारको लागि मात्र नगद ३० लाख खर्च हुनेछ । प्रतियोगितामा सहभागी सबै प्रतिस्पर्धी टिमलाई पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनु भयो ।
शनिबारसम्म पोखरामा सञ्चालन हुने उक्त फेष्टिभलको आज एक समारोहका बिच नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती र नेपाल स्थित चाइनिज राजदूत चेन सोङले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।
उद्घाटनको अवसरमा नेपाल र चाइनाको कला संस्कृति झल्कने नृत्य समेत प्रस्तुत: गरिएको थियो । नेपालमा पहिलो पटक भएको उक्त प्रतियोगिताको अवलोकन गर्न हजारौँ पोखरेली पोखराको फेवाताल किनारामा पुग्नु भएको थियो ।
दक्षिण एसियामै पहिलो पटक पोखरामा आयोजना भएको उक्त बोट रेसमा सहभागी हुन सिंगापुर, चाइना र नेपालका गरी ८ टिमको सहभागिता रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । पोखरा लेकसाइडको क्याम्पिङचोकमा चाइना तथा नेपालका केही स्टलहरू समेत रहेका छन् ।
नेपाल र्याफ्टीङ एण्ड क्यानोइङ एशोसियसन (एनआरसीए), चाइना नेपाल फ्रेण्डसिप, फेवा डुङ्गा व्यवसायी सङ्गठन, र पोखरा महानगरपालिकाको टिम प्रतियोगितामा सहभागी भएको पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले बताउनु भयो । उक्त प्रतियोगितामा सहभागी टिममा १२ जना खेलाडीहरू हुन्छन् भने एक जनाले चाइनिज ड्रम बजाउँदै त्यसको तालमा अन्य खेलाडीहरूले डुङ्गा खियाउँदै आफ्नो निर्धारित दुरी पार गर्न प्रतिस्पर्धा गर्नु भएको छ ।
नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान), नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा), नेपाल राफ्टिङ एण्ड क्यानोइङ एशोसियशन तथा अन्य संस्थाहरूसँगको सहकार्यमा उक्त बोट रेस सहित फेष्टिभवल भएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ