बुधबार, चैत्र २५, २०८२

सिमकोट जोड्न छ किमी ट्र्याक खोल्न बाँकी


कान्तिपथ


काठमाडौँ । राष्ट्रिय सडक सञ्जालसँग जोडिन बाँकी एक मात्रै जिल्ला सदरमुकाम सिमकोटमा झन्डै छ किमी ट्र्याक खोल्न बाँकी रहेको छ । कर्णाली करिडोरअन्तर्गत सल्लीसल्ला–सिमकोट खण्डको ११ किमी ट्र्याक खोल्ने जिम्मा सरकारले गत वर्ष नेपाली सेनालाई दिएकामा अहिलेसम्म पाँच किमी खोलिसकेको र बाँकी छ किमीमा काम भइरहेको भन्ने सूचना प्राप्त भएको उत्तर–दक्षिण करिडोर निर्देशनालयका प्रमुख श्यामबहादुर खड्काले जानकारी दिनुभयो । 

आउँदो वर्षमा पूरै ट्र्याक खोलिसकिने योजना रहेको र अहिले लेप्चे लालीबगर क्षेत्रमा काम भइरहेको छ । बाँकी ट्र्याक खोलिसकेर सिमकोट सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजना रहेको उहाँले बताउनुभयो ।  

“खोलिसकेको सडक हस्तान्तरण भएपछि नै स्तरोन्नतिको काम अघि बढाइने छ। सरिसल्लामा बेलिब्रिज निर्माण गर्न लागिएको छ । त्यो बनेपछि  अहिले ट्र्याक खोलिसकेको ठाउँसम्म यहाँबाट जान सकिन्छ”, प्रमुख खड्काले भन्नुभयो, “अहिले हिल्साबाट पनि ट्र्याक  खुल्यो र कालिकोटबाट पनि ट्र्याक खुलेर बीचको थोरै खण्ड मात्रै बाँकी रहेको छ ।”

“बीचको खण्डमा पनि ट्र्याक खोल्न सकिएमा सिमकोट हुँदै सीमासम्म जान सकिन्छ । अहिलेसम्म कर्णाली करिडोरमा कालोपत्रको ठेक्का लागिसकेको छैन । ग्राभेलको काम ठाउँ ठाउँमा भइरहेको छ”, उहाँले जानकारी दिनुभयो, “कालीकोटको खुलालुदेखि सलिसल्लासम्म ट्र्याक खुलिसकेकाले त्यहाँ सडक चौडा बनाउने काम भइरहेको छ । त्यो  खण्डबाट कालोपत्र गर्ने योजना छ ।” 

अहिले माथिल्लो क्षेत्रमा हिल्साबाट सिमकोटसम्म विभिन्न खण्डमा यसअघि ट्र्याक खुलेकाले अब सिमकोटभन्दा माथितिर ग्राभेल  र पुल बनाउने काम भइरहेको छ । 

“अहिले बीचको खण्डमा मात्रै ट्र्याक खोल्न बाँकी हुँदा सिमकोट वा त्योभन्दा अगाडि निर्माण सामग्री लैजान कठिन छ  ट्र्याक खुलेपछि कालोपत्रका लागि आवश्यक सामग्री माथिसम्म लैजान र काम गर्न सकिन्छ, प्रमुख खड्काले भन्नुभयो, “माथिल्लो भागमा कतिपय खण्डमा सुधार भइसकेकाले त्यहाँ पनि निर्माण सामग्री लैजान सकिने भएमा कालोपत्र गर्न सकिनेछ ।” 

आयोजनाले सेनालाई जिम्मेवारी दिएको खण्डमा थप काम अघि बढाउन पहिले उसले सम्पन्न गरिसकेर सडक विभागलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । सरकारले आयोजना चाँडो सम्पन्न गर्न त्यही किसिमले प्राथमिकतामा राखेर बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चितता गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

गत वर्षदेखि चीनको नाका बन्द रहे पनि हाल खुलेको छ । अहिले चीनको सीमा खुलेपछि आवश्यक सामग्री उताबाट ल्याएर पनि हिल्सा सिमकोट सडकमा काम भइरहेको छ । नाका नखुलेको समयमा हिल्सा सीमाबाट सामान ल्याउन सकिएको छैन । 

धेरै उचाइमा काम गर्नुपर्ने हुँदा तापक्रमको समस्या हुन्छ । कम तापक्रम हुँदा जाडोको समयमा हिमाली क्षेत्रमा काम गर्न सकिँदैन । वर्षभरमा काम गर्ने महिना थोरै मात्रै हुँदा समयमै  सकाउन गाह्रो हुने प्रमुख खड्काले  बताउनुभयो

कर्णाली करिडोरको सुरुको विन्दु कालीकोटको खुलालु र अन्तिम विन्दु हुम्लाको सरिसल्ला रहेको छ । कालीकोट ४० किमी, बाजुरा ४४ किमी र हुम्ला ३८ दशमलव ७५ किमी छ । रासस



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत