शुक्रबार, चैत्र २७, २०८२

दोहोरो नागरिकता लिएको आरोपमा लागेपछि उपमेयर प्रहरी कार्यालय हाजिर


कान्तिपथ


सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादवलाई दुई देशको नागरिकता लिएको आरोपमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि आज जिल्ला प्रहरी कार्यालयमा आफै हाजिर हुनु भएको छ।

नागरिकता सम्बन्धी आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उपप्रमुख यादव बुधबार जिल्ला प्रहरी कार्यालय राजविराजमा उपस्थित हुनु भएकाे हाे। 

उच्च अदालत जनकपुर, राजविराजको परमादेशपछि दुई दिनअघि यादव र उनका श्रीमान् महेन्द्रकुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएपछि उपप्रमुख यादव आफैँ प्रहरीसमक्ष उपस्थित हुनु भएकाे हाे ।

सोही नगरपालिका वडा नं‍ ४ का ३५ वर्षीय कृष्णकुमार यादवले उपप्रमुख र उहाँका श्रीमान् विरुद्ध जिल्ला प्रशासन कार्यालयमा  उजुरी दिएका थिए। उक्त उजुरी उपर कारबाही प्रक्रिया अघि नबढाएको भन्दै उनले उच्च अदालतमा परमादेशका लागी तीन महिनाअघि निवेदन दिएका थिए।

उजुरीमा उपप्रमुखका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्ला निवासी रहेको उल्लेख छ। आरोपितहरू विधानसभा निर्वाचन क्षेत्र बिहार निर्वाचन नामावली भाग सं।५१ अनुसार श्रीमान् श्रीमती दुवै भारतीय नागरिक रहेको दाबी गरिएको छ। 

उपप्रमुख, उनका श्रीमान् र छोरा इन्द्रजीतले डाक्नेश्वरी नगरपालिका ६ अन्तर्गत साबिकको औरही गाविस–३ बाट झुटो विवरणको आधारमा नागरिकता प्रमाणपत्र लिई उपप्रमुखको पद धारण गरी संवेदनशील न्यायिक समितिको संयोजक पदमा बसेर पदीय दायित्व दुरुपयोग गरिरहेको उजुरीमा उल्लेख छ। 

उच्च अदालतमा दायर मुद्दामा गत जेठ ५ गते न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र तेजनारायण सिंह राईको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाममा परमादेशको आदेश जारी गरेको थियो। 

प्रहरीकोमा उपस्थित हुनुअघि उपप्रमुख यादवले आरोपहरू गलत रहेको जिकिर गर्दै अनुसन्धान सहजताका लागि कानुनमाथि विश्वास राख्दै उपस्थित हुन लागेको बताउनुभएकाे हाे। 

निर्वाचनमा पराजित हुनेहरूले नक्कली कागजात पेश गरी झुटा मुद्दा दायर गरेको दाबी गर्दै उपप्रमुख यादवले आफू नेपाली नागरिक रहेको र अदालतबाट पुष्टि हुने विश्वास व्यक्त गर्नुभयाे ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरमा जन्मे, हुर्केको, पढेको र जागिर खाएको तथा सप्तरीकै डाक्नेश्वरी नगरपालिका-६ मा विवाह गरेको बताउँदै उपप्रमुख यादवले राजनीतिक पूर्वाग्रह राखी दिएको झुटा उजुरी खारेज हुने विश्वास समेत व्यक्त गर्नुभयाे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत