मङ्लबार, अशोज ९, २०८०

दुई साताभित्र सङ्घीय अस्पतालका सबै शय्या निःशुल्क बनाइन्छ : मन्त्री बस्नेत


कान्तिपथ


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मुलुकको सबैभन्दा ठूलो सरकारी वीर अस्पतालमा आगामी साउन १ गतेदेखि ओपिडी सेवा बिहान ८ बजेदेखि उपलब्ध हुने बताउनुभएको छ ।

सेवामूलक गैरसरकारी संस्था विजेन नेपाल नवौँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आगामी दुई साताभित्र मुलुकका सबै सङ्घीय अस्पतालका सबै शय्या पनि निःशुल्क बनाइने जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, “आगामी साउन १ गतेबाट वीर अस्पतालबाट यो सेवा लागू गर्छौ । अस्पताल समयमा पनि चिकित्सक नभेटिने समस्यालाई यसले केही हदसम्म निरुत्साहन गर्नेछ । चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि काम गर्ने वातावरण बनाउन पनि मन्त्रालय दृढ छ ।”

मेडिकल कलेज सञ्चालनको स्वीकृति लिने बेलामा १० प्रतिशत शय्या निःशुल्क हुनुपर्छ भन्ने सम्झौता हुने गरेको र त्यसको कार्यान्वयनमा कडाइ गरिएको बताउँदै उहाँले यसबाट हजारौँ सङ्ख्यामा लक्षित समुदायलाई उपचारमा लाभ मिलेको बताउनुभयो ।

जनतालाई निःशुल्क र प्रभावकारी उपचार गराउन र त्यससम्बन्धी अनुभूति दिलाउन आफू लागिपरेको बताउँदै मन्त्री बस्नेतले उपचार सेवालाई सहज, सरल र सुलभ तुल्याउन अनलाइनका माध्यमबाट टिकट लिने व्यवस्था गर्न लागिएको उल्लेख गर्नुभयो ।

संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठले करिब तीन सय कर्मचारीको सहायतामा संस्कार र मुस्कानसहित दैनिक १२ हजारभन्दा बढी बिरामीलाई थेरापीका माध्यमबाट उपचार प्रदान गरिरहेको जानकारी दिनुभयो । ‘पैसा होइन, मानवता प्राथमिकता’ भन्ने नाराका साथ संस्थाले काम गरिरहेको बताउँदै उहाँले यो पद्धतिले समाजलाई अनुशासन, सभ्यता र संस्कार पनि सिकाइरहेको उल्लेख गर्नुभयो ।

संस्थाका कार्यकारी निर्देशक ज्ञानु लामिछानेले कोरियाबाट सुरु भई अमेरिका, चीन र भियतनाममा समेत ख्याति कमाएको वैकल्पिक उपचार पद्धतिका रूपमा रहेको निःशुल्क कोरियन थर्मल थेरापी पद्धति स्वास्थ्य क्षेत्रमा जनचेतना अभिवृद्धिका हिसाबले अब्बल सावित भएको बताउनुभयो ।

मुलुकमा स्वास्थ्योपचार महँगो भइरहेका बेला बहुउपयोगी पद्धति र उपकरणमार्फत मुलुकका ५८ केन्द्रबाट सेवा प्रवाह भइरहेको सो अवसरमा जानकारी दिइयो । उक्त थर्मल थेरापी पद्धति खासगरी नशा र हाडजोर्नीका बिरामीलाई निकै लाभदायी ठहरिएको संस्थाको दाबी छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत