बिहिबार, चैत्र २६, २०८२

भारत सरकारद्वारा ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस प्रदान 


कान्तिपथ


काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ । 

आज यहाँ आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गर्नुभएको सो दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको भारत सरकारले सन् १९९४ देखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको छ । 

त्यस अवसरमा मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गर्नुभयो । उहाँले ती परियोजनाले दुई देशबीचको जनता जनता बीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताउनुभयो । 

राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुल बस नेपालको स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा गरिएको सहयोग हो भन्दै यो कार्यक्रम भारत र नेपालबीचको विकास साझेदारीकै एक अंशका रुपमा रहेको जानकारी दिनुभयो । 

यस कार्यक्रमअन्तर्गत सन् १९९४ यता भारतले नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न सङ्घसंस्थालाई नौ सय ७४ वटा एम्बुलेन्स र दुई सय ३४ स्कुल बस उपहारस्वरूप उपलब्ध गराइसकेको सो विज्ञप्तिमा उल्लेख छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत