शनिबार, अशोज १३, २०८०

३० करोडको एमआरआई मेसिन ४ महिनादेखि अलपत्र अवस्थामा


कान्तिपथ


वीरगञ्ज । स्वास्थ्य मन्त्रालयले ३० करोड रुपैयाँमा खरिद गरी नारायणी अस्पताल वीरगञ्जमा पठाएको एमआरआई मेसिन ४ महिनादेखि प्रयोगविहीन अवस्थामा अलपत्र परेको छ ।

स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालि मार्फत खरिद गरेको एमआरआई मेसिन नारायणी अस्पतालमा गत चैत्र महिनामा आइपुगेको थियो ।

मेसिन आएको ४ महिना बितिसक्दा पनि अस्पताल प्रशासनको लापरवाहीका कारण मेशिन अहिलेसम्म सञ्चालनमा आउन नसकेको बिरामीहरू आक्रोशित भएका छन् । गत जेठ २५ गते अस्पताल प्रशासनले एक सूचना जारी गरी अस्पतालमा आइपुगेको एमआरआई मेसिनबाट असार १५ गतेदेखि सेवा सुरु गरिने जानकारी गराए पनि अझै मेशिनबाट सेवा सुरु हुन सकेको छैन ।

अस्पतालको भवनमा एमआरआई कक्ष तयार गरी एमआरआई मेसिन जडान गरिसकिएको भएपनि मेसिन सञ्चालनका लागि जेनरेटरको व्यवस्थापन हुन नसक्दा मेसिन प्रयोगविहीन अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

मेशिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिका प्राविधिक इन्जिनियर विनोद चौधरीका अनुसार एमआरआई मेसिन सञ्चालनका लागि ५०० केभिए क्षमताको जेनरेटर चाहिने र सो मेसिनलाई २४ सै घण्टा चिसोमा राख्नुपर्ने हुन्छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चित्तरञ्जन साहका अनुसार एमआरआई कक्षमा मेसिन जडान गरी एक महिना पहिले २०० केभिए क्षमताकै जेनेरेटर चलाएर परिक्षण गरिएको थियो । त्यस क्रममा आवश्यक विद्युतीय ऊर्जा नपुग्दा मेसिनबाट हिलियम ग्याँस लिक भएको उहाँले बताउनुभयो ।

उहाँले मेसिन सञ्चालनका लागि चाहिने ५०० केभिए क्षमताको नयाँ जेनेरेटर खरिदका लागि आवश्यक बजेट अस्पतालसँग उपलब्ध नहुँदा सञ्चालनमा समस्या भएको जानकारी दिनुभयो ।

यसैबिच अस्पताल प्रशासनले बजेटको व्यवस्थापन नहुदाँसम्मका लागि मासिक ४ लाख ५० हजार रुपैयाँ भाडा तिर्ने गरी ५०० केभिए क्षमताको जेनेरेटर ल्याएर अस्पतालमा राखिएको र मेसिन परीक्षणको क्रममा लिक भएको हिलियम ग्याँस रिफल गर्न आपूर्तिकर्ता कम्पनीले ढिलो गर्दा समस्या भएको जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत