शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • सभामुख घिमिरे र चीनका सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्यबीच शिष्टाचार भेटवार्ता

सभामुख घिमिरे र चीनका सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्यबीच शिष्टाचार भेटवार्ता


कान्तिपथ


काठमाडौँ ।  सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहनुभएका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यान च्याचिनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

काठमाडौँमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भयो । 

भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्त्व दिँदै उपल्लो स्तरको भ्रमण गर्दै आएकोमा आभार व्यक्त गर्नुभयो । 

“सन् २०१९ मा राष्ट्रपति सि चिनफिङको भ्रमणपछि उपल्लो स्तरको भ्रमण हुँदै आएको छ”, उहाँले भन्नुभयो, “द्विपक्षीय राजनीतिक भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।”

सभामुख घिमिरेले नेपाल सुन्दर र विश्वकै आकर्षक मुलुक रहेको उल्लेख गर्नुहुँदै  चीनको सानो सहयोगले पनि समृद्धिका लागि सहयोग पुग्ने बताउनुभयो । उहाँले संविधान निर्माणसँगै नेपालले स्थायित्व र विकासमा प्रगति हासिल गरिरहेको बताउँदै तत्कालीन केपी शर्मा ओली सरकारले गरेको पारवहन सन्धी र रसुवागढी–केरुङ रेल मार्गको विकासका लागि जोड दिनुभयो ।

हिमाल र नदी तथा धर्म र संस्कृतिले जोडिएका चीन र नेपालबीच प्रागैतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहँदै उहाँको भनाइ छ । सभामुख घिमिरेले नेपाल आउने पर्यटकको मुख्य हिस्सा चीनको रहेका उल्लेख गर्नुहुँदै जसले नेपालको पर्यटन उद्योगमा टेवा पुर्याएको बताउनुभयो । 

सभामुख घिमिरेले जन गणतन्त्र चीनको राष्ट्रिय जन काँग्रेसका स्थायी समितिका अध्यक्ष ली चानशुको गएको वर्ष भएको भ्रमण र नेपालको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको एक महिनाअघि भएको भ्रमणले संसदीय आदान प्रदान विस्तारित हुँदै गएको बताउनुभयो ।

चीन संसारको आर्थिक शक्ति रहेको उल्लेख गर्नुहुँदै सभामुख घिमिरेले नेपाललाई अन्नको भण्डार बनाउन नमूना कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले चीन नेपालको भरपर्दो विकास साझेदार रहेको बताउनुभयो ।

सीपीसी नेता यान च्याचिनले आफू चिनियाँ राष्ट्रपति चिनफिङको निर्देशनमा नेपाल भ्रमणमा आएको बताउँदै नेपाललाई अन्नमा आत्मनिर्भर बनाउन चीनले सहयोग गर्ने बताउनुभयो । 

उहाँले आफ्नो नेपाल भ्रमणमा ८० लाख युआन अर्थात् नेपाली १४ करोड रुपैयाँ सहयोगको घोषणा गर्नुभयो । नेता च्याचिनले सभामुख घिमिरेलाई चीन भ्रमणको निम्तो समेत दिनुभयो ।

आज नै एलआरआई स्कुल कलङ्कीमा भएको कार्यक्रममा सभामुख घिमिरे र नेता च्याचिनले भाषा ल्याबको सुरुवात गर्नुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत