शुक्रबार, चैत्र २७, २०८२

प्रस्तावित राजदूतको सुनुवाइ सुरु


कान्तिपथ


काठमाडौँ । सङ्घीय संसद्, सार्वजनिक सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित समितिको आजको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुने कार्ययोजना छ ।

समितिले प्रस्तावित राजदूतसँग योग्यता, कार्यादेश, अवधारणा र सोचबारे जानकारी लिनेछ । समितिको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापाले आफ्नो कार्ययोजना र अवधारणा पेस गर्नुभएको छ । बैठकमा स्वीट्जरल्यान्डका लागि प्रस्तावित राजदूत रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टराईले अवधारणा पेस गर्नुहुनेछ ।

सरकारले परराष्ट्र सेवामा रहनुभएका सहसचिवलाई विभिन्न कूटनीतिक नियोगमा राजदूतका रूपमा सिफारिस गरेको थियो । राजदूत नियुक्तिमा समावेशी चरित्र नदेखिएको भन्दै समिति सदस्यहरूले आजको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदसँग जानकारी लिएको थियो ।

समितिमा आफ्नो धारणा राख्दै मन्त्री साउदले संविधानको मर्म र भावनाअनुरूप सबै प्रकारका नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो । उहाँले समावेशी सिद्धान्तलाई सरकारले आत्मसात गर्ने र समावेशी सिद्धान्तलाई राजदूत नियुक्त गर्दा पनि व्यवस्थित रूपमा सम्बोधन गर्दै लैजान पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

संविधानले राज्यका सबै क्षेत्रलाई समावेशी बनाउने सिद्धान्त अङ्गीकार गरेपछि नेपाल परराष्ट्र सेवा समावेशिताको नमूनाका रूपमा रहेको उहाँको भनाइ थियो । सरकारले परराष्ट्र सेवाका सहसचिव थापालाई  (न्यूयोर्कस्थित नेपाली स्थायी नियोग प्रतिनिधि), सुवेदी (स्वीट्जरल्यान्ड), भट्टराई (फ्रान्स), घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर ओलीलाई (थाइल्यान्ड)का लागि राजदूत प्रस्ताव गरी सुनुवाइका लागि समितिमा पठाएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत