धनकुटा । धनकुटा नगरपालिकाले आफ्नो मातहतमा रहेका १७ वटा सहकारी संस्थाको इजाजत खारेज गरेको छ । समयमै साधारणसभा नगर्ने, समयमै लेखा परीक्षण नगर्ने र विवरण नबुझाउने सहकारी संस्था खारेज गरेको हो ।
नगरपालिकाको सहकारी ऐन, २०७५ को दफा २८ बमोजिम हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनुपर्ने, सोही ऐनको दफा ५४ को उपदफा १ बमोजिम आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ३ महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने तथा दफा ५२ को उपदफा १ बमोजिम नगरपालिकामा विवरण बुझाउनु पर्नेमा ४ वर्ष बढीदेखि बाँकी रहेका सहकारी खारेजीमा परेका हुन ।
नगरपालिकाले गत साउन ३० गते एक सूचना निकाल्दै सम्पर्कका लागि बोलावट भएका सहकारीहरूबाट सम्बन्धित पक्ष सम्पर्कमा नआएकोले भदौ १३ गतेको निर्णय अनुसार शुक्रबारदेखि लागु हुनेगरि उक्त सहकारी संस्थाहरू खारेज गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिनुभयो ।
खारेज भएका १७ वटा सहकारी संस्थाहरूले तिर्नु बुझाउनु पर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाण सहित साबिकका सञ्चालक समितिका पदाधिकारीहरूसँग सम्पर्क गरी फरफारक गर्न पनि नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । नगरपालिकाको सूचनामा भनिएको छ, ‘अव उप्रान्त उक्त संस्थाहरूको नामबाट कुनै पनि कारोबार नगर्न/नगराउनु हुन समेत जानकारी गराइन्छ । ’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ