शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • पोखरामा हुने राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुवै तर्फ ५/५ टिम सहभागी हुने

पोखरामा हुने राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुवै तर्फ ५/५ टिम सहभागी हुने


कान्तिपथ


पोखरा । पोखराको लामाचौरमा यही भदौ अन्तिम साता आयोजना हुने राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुवै तर्फ ५/५ टिम सहभागी हुने भएका छन् । नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा भदौंं ३० देखि असोज १ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा महिला तर्फ ३ विभागीय सहित ५ टिम र पुरुष तर्फ भने २ विभागीय सहित ५ टिमको सहभागिता हुने भएको समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले बताउनु भयो ।

समाजले महिलाहरूको महान् पर्व हरितालिका तिज पर्वको अवसरमा पोखराको लामाचौरमा आयोजना गर्ने उक्त प्रतियोगितामा महिलातर्फ ३ विभागीय टिम नेपाल पुलिस क्लब, नेपाल आर्मीको त्रिभुवन क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, काठमाण्डौंको न्यू डायमण्ड  एकेडेमी र बुटवलको न्यू एभरेष्ट भलिबल क्लब सहभागिता हुने अध्यक्ष भण्डारीले बताउनु भयो । त्यसै गरी पुरुष तर्फ २ विभागीय टिम नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब, गण्डकी प्रदेश, मणीमुकुन्द क्लब बुटवल र बागलुङको गलकोट स्पोट्र्स क्लब सहभागी हुने भएको उहाँले जनाउनु भयो । 

पुरुष तर्फ नेपाल आर्मीको त्रिभुवन क्लब यसपाली सहभागी नहुने भएपछि बागलुङको गलकोट स्पोट्र्स क्लब सहभागी हुने भएको समाजका पूर्व अध्यक्ष बुद्धि बहादुर खत्री क्षेत्रीले बताउनु भयो । राष्ट्रिय भलिबल प्रतियोगितामा महिला र पुरुष तर्फ उपाधि विजेतालाई जनही १ लाख ५० हजार १ सय ११ रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यसै गरी दोस्रो हुने टिमलाई जनही १ लाख १ सय ११ र तेस्रो हुनेलाई जनही ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको समाजले जनाएको छ । 

समाजले लामाचौर तिज महोत्सवको अवसरमा उक्त भलिबल प्रतियोगिता सहित सितोरियो कराँते प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, अन्तर महिला समूह तिज गीत प्रतियोगिता, स्रष्टा सम्मान, सांस्कृतिक कार्यक्रमहरू लगायतका कार्यक्रमहरू हुने भएको पूर्व अध्यक्ष खत्रीले जनाउनु भयो । तिज पर्वमा आफूहरूले समाजमा रहेका युवाहरूलाई खेलकुदको माध्यमबाट समाजमा केही परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश दिन पनि खेलकुदलाई निरन्तरता दिँदै आएको उहाँले जनाउनु भयो ।

लामाचौरको इन्द्रराज्य लक्ष्मी माविको परिसरमा हुने भलिबल सहित महोत्सव सम्पन्न गर्न करिब ५० लाख खर्च लाग्ने समाजले जनाएको छ । समाजले लामो समय देखि उक्त महोत्सवबाट बचत रकमलाई समाजद्वारा सञ्चालित एम्बुलेन्स तथा शव वाहन सेवामा खर्च गर्दै आएको पूर्व अध्यक्ष सञ्जयकुमार अधिकारीले बताउनु भयो । भलिबल खेल मैदानको लागि हाल जेसिभि र लोलर लगाएर सम्माउने काम भएको छ । साथै अस्थायी प्यारापिट समेत निर्माण हुने भएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत