वीरगञ्ज । वीरगंजमा गैर कानुनी रुपमा सञ्चालनमा आएका ८ वटा कलेज र १ स्कुललाई वीरगंज महानगरपालिकाले शिलबन्दी गरेपछि अहिले वीरगंजमा शैक्षिक माफियाहरू बिच हलचल पैदा भएको छ ।
अनुगमनको क्रममा विद्यार्थीलाई कानुन पठाउने कलेज नै गैर कानुनी भएको पाइएको छ भने गुणस्तरीय शिक्षाको नारा दिने निजी शैक्षिक संस्थाको छाता सङ्गठनका पदाधिकारीहरूले नै गैरकानुनी रुपमा कलेज तथा विद्यालय सञ्चालन गरेको भेटिएको छ ।
वीरगञ्ज महानगरपालिकाले आज मात्रै थप २ वटा कलेजमा शिलबन्दी गरेको छ । शैक्षिक संस्थाहरूलाई नियमन गर्न अनुगमन गर्ने क्रममा अनुमति नलिएर सञ्चालनमा रहेको वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ स्थित सत्यम पब्लिक कलेज र वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ स्थित पर्सा म्यानेजमेन्ट कलेजमा महानगरले शिलबन्दी गरिएको महानगरद्वारा गठित नियमन समितिका संयोजक ईश्वर चन्द्र यादवले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीट्याङ्कीस्थित एन्जल इन्टरनेशनल स्कुलले लिएको कक्षा ११ र १२ सञ्चालनको अनुमतिलाई दुरुपयोग गर्दै सत्यम कलेजको फर्जी नाममा विद्यार्थी भर्ना गरेर पठनपाठन गराइरहेको पाएपछि शिलबन्दी गरिएको नियमन समितिका संयोजक यादवले बताउनुभयो ।
सत्यम कलेजले रानीघाटस्थित शुभ तारा स्कुल भएको भवनमा कक्षा सञ्चालन गरिरहेको भेटिएको पनि उहाँले जानकारी दिनुभयो ।
निजी शैक्षिक संस्थाहरूको छाता सङ्गठन र शैक्षिक संस्थाहरू नियमअनुरूप सञ्चालन हुनु पर्छ भनेर आवाज उठाउनेहरू नै गैर कानुनी रुपमा फर्जी कलेज सञ्चालन गरिरहेको भेटिनु दुर्भाग्यपूर्ण विषय हो । एनप्याब्सनसँग आबद्ध जिम्मेवार व्यक्तिले नै आफ्नो विद्यालयले लिएको कक्षा ११ र १२ को अनुमति आर्थिक लाभका लागि अन्यलाई विक्री गरेर सञ्चालन गरेको भेटिनु शैक्षिक क्षेत्रका लागि डरलाग्दो अवस्था रहेको वीरगंज महानगरपालिकाका शैक्षिक महाशाखाका अधिकृत नारायण चापागाईँले बताउनु भयो ।

महानगरले शिक्षा क्षेत्र सुधारका लागि अहिले कडा रुपमा प्रस्तुत भएर अनुगमन र कारबाही दुबैलाई सँगसँगै अघि बढाएको भन्दै उहाँले अब कुनै पनि बहानामा अनधिकृत रुपमा सञ्चालनमा रहेका शैक्षिक संस्थालाई नछाडिने चेतावनी पनि दिनुभयो ।
समितिका संयोजक यादव नेतृत्वको अनुगमन टोलीले आजै न्यू वेभ एकेडेमीले कक्षा ११ र १२ सञ्चालन गर्ने लिएको अनुमतिलाई दुरुपयोग गर्दै अन्य ठाउँमा नाम समेत परिवर्तन गरेर विद्यार्थी भर्ना गर्दै कक्षा सञ्चालन गरिरहेको पर्सा म्यानेजमेन्ट कलेजलाई समेत शिलबन्दी गरेको छ ।
समितिले यस अघि गैर कानुनी रुपमा सञ्चालित प्रिन्सटन मोडेल एकेडेमी, युनिभर्सल प्लस टु कलेज, अन्नपूर्ण कलेज, युनिभर्सल एकेडेमी, वीरगञ्ज स्कुल अफ ल, इम्पेरियल कलेज र बिजी बीज किड्स प्रि स्कुलमा शिलबन्दी गरेको वीरगंज महानगरपालिकाका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले बताउनु भयो ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ