बुधबार, चैत्र २५, २०८२

खोलामा पुल नहुँदा जोखिम मोलेर आवतजावत


कान्तिपथ


बैतडी । बैतडीको सिगास गाउँपालिका ७ स्थित न्वाघरीगाड खोलामा पुल नहुँदा आवतजावतमा समस्या भएको छ । खोलामा पुल नहुँदा स्थानीयवासी र विद्यार्थीहरू जोखिम मोलेर आवतजावत गर्ने गरेका छन् ।

खोलामा पुल नभएका कारण साङडा र थलार गाउँका विद्यार्थीहरू ज्यानको बाजी लगाएर विद्यालय जाने गरेका छन् । आफ्नो गाउँमा कक्षा ३ सम्मको मात्र विद्यालय भएकाले माथिल्लो कक्षा पढ्न यहाँका ४० जना भन्दा बढी विद्यार्थी न्वाघरीगाड खोला तरेर करिब एक घण्टाको दूरीमा रहेको सिगास ६ स्थित गणेश माविमा जाने गर्दछन् । 

विद्यार्थीलाई सोही गाउँकी शिक्षिका लक्ष्मी चन्दले नदी तराएर गणेश मावि लैजाने र ल्याउने गर्नुभएको छ । खोलामा पुलका लागि पटक–पटक माग गरेपनि दुर्गममा बस्नेको कुरा कसैले नसुनेको शिक्षिका चन्दले बताउनुभयो ।

पुल नभएको न्वाघरीगाड खोलामा बगेर तीन जनाको मृत्यु भइसकेको छ । 

न्वाघरी गाडबाट १सय मिटरकै दुरीमा सेती नदी भेटिने गरेको स्थानीय भान बहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो,‘विद्यार्थी मात्रै नभई हामी ४सय परिवारको मुख्य बजार जाने बाटो यही पनि हो । त्यसैले खाद्यान्न, लुगा कपडा ल्याउने देखि बिरामी हुँदा समेत जोखिम मोलेर यात्रा गर्दछौँ । हाम्रा लागि यस बाटोको विकल्प छैन । भीरबाट गयो भने ढुङ्गा खसिरहन्छ खोलामा पुल छैन । पुल बनेमा राहत हुने थियो ।’

४० जना विद्यार्थीहरू हरेक दिन नदी तरेर विद्यालय आउने जाने गर्दा दुर्घटनाको जोखिम रहेको गणेश माविका प्रधानाध्यापक कालुसिंह साउदले बताउनुभयो ।

पुलका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारका जनप्रतिनिधिसँग माग गरेपनि कुनै सुनुवाइ नभएको नागरिकहरूको गुनासो छ । बैतडीको सिगास गाउँपालिका अहिलेसम्म यातायातसँग जोडिन सकेको छैन ।

बर्सेनि यहाँ न्वाघरीगाड र सेती नदीको बाढीले घरखेत र हिँड्ने बाटो बगाउने गरेको छ । बाढीले बैतडीको सिगास गाउँपालिका ७ भौनेलीपातलदेखि डोटीको आदर्श गाउँपालिका–६ पाङ बबिना जोड्ने पुल बगाएपछि अहिले यहाँका स्थानीय समस्यामा परेका छन् ।  

न्वाघरी गाडामा पुल निर्माण गर्न स्थानीय सरकारको अगुवाइमा संघ र प्रदेश सरकारले सर्वेक्षण गरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत