बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • बेलायत पठाइने नर्सहरुको आवेदन, डेढ महिनामा ५३९ मध्ये २२ जनाको मात्रै स्वीकृत, अधिकांशको अङ्ग्रेजी समस्या

बेलायत पठाइने नर्सहरुको आवेदन, डेढ महिनामा ५३९ मध्ये २२ जनाको मात्रै स्वीकृत, अधिकांशको अङ्ग्रेजी समस्या


कान्तिपथ


काठमाडौं । रोजगारीका लागि बेलायत जान चाहने नर्सका लागि अनलाइन आवेदन खुलेको डेढ महिनामा ५३९ जनाको आवेदन परेको छ । तर, मागिएअनुसारको मापदण्ड नपुग्दा आवेदकमध्ये २२ जनाको मात्रै आवेदन स्वीकृत भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेका अनुसार २१ जुलाईदेखि ११ सेप्टेम्बरसम्म ५३९ जनाको आवेदन परेको हो । त्यसमध्ये २२ जनाको मात्रै स्वीकृत भएको हो । आवेदन दिएकामध्ये केहीको भने मापदण्ड पुर्‍याएर कागजपत्र पेस गरे अझै स्वीकृत हुने सम्भावना रहेको उनले बताए । 

आवेदन अस्वीकृत हुनेमा अधिकांशको अङ्ग्रेजी भाषामा तोकिएको मापदण्ड नपुगेको देखिएको छ । बेलायतको डिपार्टमेन्ट अफ हेल्थ सर्भिस सेन्टरले त्यहाँ लैजाने नर्सका लागि आईएलटीएस (इन्टरनेसनल इङ्लिस ल्याङग्वेज टेस्टिङ सिस्टम) वा ओईटी (अकुपेसनल इङ्लिस टेस्ट) कोर्स अनिवार्य गरेको छ । 

आईलटीएसको रिडिङ, लिस्निङ र स्पिकिङ स्कोर ७ र राइटिङमा ६.५ ल्याएको हुनुपर्ने मापदण्ड छ । ओईटीको हकमा रिडिङ, राइटिङ र लिस्निङमा कम्तीमा बी ग्रेड त्याएको हुनुपर्छ  । 

त्यस्तै, नेपाली पासपोर्टको म्याद आवेदन दिएको दिनदेखि कम्तीमा एक वर्ष रहेको, नेपाल सरकार वा विदेशको मान्यता प्राप्त शिक्षण संस्थाबाट अध्ययन गरी स्टाफ नर्स, बीएस्सी नर्सिङ वा बीएन गरेको हुनुपर्छ ।

आवेदन दिने नर्स नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त हुनपर्ने, पछिल्लो दुई वर्षभित्र मान्यताप्राप्त अस्पतालमा दुई वर्ष काम गरेको हुनुपर्ने मापदण्ड छ । 

आवेदन स्वीकृत भएकामध्ये २० जना ओईटी र दुईजना आईलटीएस गरेका नर्स छन् । तर, अधिकांशको आईलटीएस स्कोर नपुगेकै कारण आवेदन स्वीकृत नभएको घिमिरेको भनाइ छ । 

कतिपयको भने कार्यानुभवको प्रमाण पेस गर्न नसक्दा आवेदन अस्वीकृत भएको हो । केहीको फारम भर्ने प्रक्रियामा प्राविधिक त्रुटिको समस्या देखिएको छ । 

तर, बेलायत जानका लागि परेको यो आवेदन तुलनात्मक रूपमा नेपालको भन्दा न्यून रहेको मन्त्रालयको भनाइ छ । २० जुलाईदेखि खुलेको अनलाइन आवेदनमाको म्याद २० अक्टोबरसम्म रहेको छ । 

अझै एक महिनामा आवेदकको संख्या पर्याप्त थपिन सक्ने घिमिरे बताउँछन् । बेलायत सरकारसँग मन्त्रालयको पहिलो चरणमा पाइलट प्रोजेक्टको रूपमा एकसयजना नर्स लैजाने सम्झौता भएको छ ।

घिमिरेका अनुसार आवेदन स्वीकृत भएका नर्सहरूको सर्ट लिस्टिङ र अन्तर्वार्ताको प्रक्रिया बेलायतको डिपार्टमेन्ट अफ हेल्थ सर्भिस सेन्टरले नै गर्ने छ । सन् २०२४ को सुरुवातासम्ममा नै बेलायत पठाउने मन्त्रालयको तयारी छ । 

त्यहाँ पुर्‍याइएका नर्सलाई बेलायतको सरकारले पुनः तालिम दिने छ । तालिमप्राप्त नर्सले बेलायतको नर्सिङ नियामक निकायको परीक्षा पनि उत्तीर्ण गर्नुपर्ने हुन्छ । सोपश्चात् उनीहरूले बेलायतकै नर्ससरह सेवा सुविधामा काम गर्न पाउने छन् । बेलायत पठाउन वर्षैपिच्छे आवेदन खुलाउने वा नखुलाउने  भन्नेबारे अहिले निर्णय नभएको मन्त्रालयले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत