सोमवार, मंसिर १८, २०८०

‘उत्कृष्ट फिल्म’ गायब पारिएपछि कारण देखाऊ आदेश जारी


कान्तिपथ


फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र यो फिल्म छायांकन भएको ठाउँ जुम्लाका स्थानीय तथा अधिवक्ता मीनराज आचार्यले चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा मुद्दा दर्ता गराएका छन् ।

गत भदौ १२ गते राष्ट्रपति कार्यलयमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’मा ‘उत्कृष्ट फिल्म’को विधा नै गायब बनाइएको भन्दै ‘प्रकाश’को टिम अदालत गुहार्न पुगेको हो ।

रिट निवेदनमा जुरी कमिटीले गरेको निर्णयको सक्कल झिकाउनुपर्ने र उत्कृष्ट फिल्मको अवार्ड वितरण नगर्नुको कारण सार्वजनिक गरिनुपर्ने माग समेत गरिएको छ ।

अवार्डमा उत्कृष्ट फिल्मको विधा किन गायब पारियो भन्ने विषयमा अहिले चलचित्र विकास बोर्डले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

‘सर्वोत्कृष्ट फिल्म’ विधा घोषणा नगर्ने निर्णयविरुद्ध दायर रिटमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले शुक्रबार विपक्षी चलचित्र विकास बोर्डलाई अवार्डको मूल्यांकनको क्रममा जुरीले तयार पारेका सक्कल कागजपत्र पनि झिकाउन आदेश दिएको अदालतका सूचना अधिकृत अर्जुन आचार्यले जानकारी दिए ।

फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको थलो जुम्लाको सिंजाका स्थानीय मीनराज आचार्यले परमादेश माग गर्दै बिहीबार रिट दायर गरेका थिए । उनीहरुले जुरीको निर्णयको सक्कलप्रति झिकाउनुपर्ने र कारण देखाउन भन्दै निवेदन दिएका थिए ।

भदौ १२ गते राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वश्रेष्ठ फिल्मलाई छाडेर अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो । एक जना जुरी सदस्यले ‘प्रकाश’लाई सिफारिस गरिएको तर बोर्ड नेतृत्वले नमानेको बताएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत