तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको निश्चल बस्नेतद्वारा निर्देशित फिल्म ‘दिमाग खराब’ले नेपालमा सुखद् व्यापार गरिरहेको अवस्थामा शुक्रबारबाट खाडी राष्ट्रहरुमा पनि प्रदर्शन सुरु भएको छ । दुबई, बहराइन र कतारमा एकसाथ फिल्म प्रदर्शनमा आएको वितरक अनिशसिंह ठकुरीले जानकारी दिए ।
ठकुरीका अनुसार, फिल्मले दुबईमा १७, कतारमा १५ र बहराइनमा ७ शोज पाएको छ । ‘नेपाली फिल्मले मध्यपूर्वका देशमा यति शोज पाउनु धेरै राम्रो हो,’ उनले भने, ‘नेपालमा दर्शक संख्या राम्रो हुँदाहुँदै ‘दिमाग खराब’ले कम शोज पाएको अवस्थामा हामीले दुबईमा भने राम्रो शोज पाएका छौं । पहिलो दिन प्रायः हलमा हाउसफुल दर्शक देखिएका थिए । त्यसैले शोज अझै बढ्न सक्छ ।’
ठकुरीका अनुसार, यही २४ तारिखदेखि सिंगापुर, मलेसिया, ओमान, कुवेत र इराकमा पनि फिल्म प्रदर्शन हुँदैछ । नेपालमा राम्रो प्रतिक्रिया प्राप्त गरेपछि विदेशमा फिल्मको डिमाण्ड बढ्न थालेको छ ।