कपिलवस्तु । सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा स्तम्भहरूको मर्मत सम्भार र रंगरोगन कार्यको सुरु गरेको छ । सशस्त्र प्रहरीले कपिलवस्तुको नेपाल–भारत सीमा (दशगजा) क्षेत्र कृष्ण नगरबाट सीमा स्तम्भहरूको मर्मत सम्भार र रंगरोगन कार्यको सुरुवात गरेकाे हाे ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय लुम्बिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले शुक्रबार कृष्णनगर नगरपालिका–२ भन्सारको लिङ्कगेट स्थित दशगजामा ५६७/१ नम्बरको सीमा स्तम्भमा मर्मत र रंगरोगन गरी शुभारम्भ गर्नुभएकाे हाे ।
उहाँले लुम्बिनी प्रदेशमा सीमासँग जोडिएका ५ सय ६ सीमा स्तम्भहरूको मर्मत सम्भार र रंगरोगन कार्य गरिने बताउनुभयाे । सशस्त्र प्रहरीले बिजोर सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगन गर्ने सम्पूर्ण जिम्मेवारी पाएको बताउँदै त्यही अनुसार सीमा स्तम्भहरूको मर्मत सम्भार र रंगरोगन कार्य सम्बन्धित जिल्लाका सशस्त्र प्रहरीले गर्ने उहाँले जानकारी दिनुभयाे ।
मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरूमध्ये जोर नम्बरको सीमा स्तम्भ समकक्षी भारतीय सशस्त्र सीमा बल र बिजोर नम्बरको सीमा स्तम्भ सशस्त्र प्रहरी बलले मर्मत गर्ने खत्रीको भनाई छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ