मुगु गमगढी । नेपालको सबैभन्दा ठुलो र गहिरो ताल रारामा पर्यटकहरू जोखिमपूर्ण डुङ्गा यात्रा गर्न बाध्य छन् ।
मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ९ मा अवस्थित रारा तालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले डुङ्गा चढेर वारपार गर्ने अनि रमाउने गरे पनि उनीहरुकाे यात्रा भने जोखिमपूर्ण हुने गरेको देखिन्छ । पर्यटकले डुङ्गामा सवार गर्दा प्रयोग गर्ने गरेका लाईफ ज्याकेटहरू पुरानो हुनु र क्षमताभन्दा बढी यात्रु बोकिँदा पर्यटकहरुको रमणीय यात्रा ‘भगवान् भरोसा’मा परेको हो ।

चितवन जिल्लाबाट रारा तालमा घुम्न आउनु भएका ¥याफप्टिङ गाइड सुक बहादुर गुरुङ रारा तालमा डुङ्गाबाट यात्रा गर्नेहरूले ज्यानको जोखिम मोलेर यात्रा गर्नुपरेको अनुभव सुनाउनुहुन्छ । ‘यात्रुले प्रयोग गर्दै आएका लाइफ ज्याकेट सबै ड्यामेज भएका छन् , त्यसैमा पनि रारामा चलाउने डुङ्गा एक पटकमा दश जनासम्म बोक्ने क्षमता भए पनि १४ देखि २० जनासम्म राखेर सवार गर्ने गरिनु गलत भएको उहाँले बताउनुभयो । यसले दुर्घटनाको जोखिम बढेको देखिन्छ ।’उहाँले बताउनुभयो । लाइफ ज्याकेट कुनैको खोल च्यातिएका, पेट र छातीमा बाँध्ने फित्ताका कभर फुटेका रहेछन्, यसले कुनै पनि बेला दुर्घटनाको जोखिम मोल्नु पर्ने सम्भावना रहने गुरुङले बताउनु भयो । ‘यात्रुलाई भरपर्दो र गुणस्तरीय लाइफ ज्याकेट नहुँदा भगवान् भरोसामा ताल माथि यात्रा गर्नुपर्ने रहेछ’ उहाँको भनाई थियो ।

लाइफ ज्याकेट बढीमा तीन वर्षसम्म प्रयोग गर्न मिल्ने भए पनि समय सकिँदासम्म परिवर्तन नगर्नु दुखद भएको उहाँले बताउनुभयो । उहाँले यहाँका लाइफ ज्याकेट भनेका यात्रुका सन्तोषका लागि मात्र प्रयोग हुने गरेको बताउनुभयो।
रारा राष्ट्रिय मध्यवर्ती क्षेत्र विकास समितिका अनुसार दिनमा एकसय भन्दा माथि संख्यामा रारा तालको मिलीचौरदेखि रारा हुटुसम्म आन्तरिक र वाह्य पर्यटक डुङ्गा चडेर आउने गरेका छन् । रारा मध्यवर्ती क्षेत्र विकास समितिका कार्यालय सचिव लोकेन्द्र वमले कार्यालयको तथ्यांक अनुसार हालसम्म ७० वटा लाइफ ज्याकेट र आठ वटा डुङ्गा रहेकाे जानकारी दिनुभयाे । उहाँले लाइफ ज्याकेट खरिद गरेको समय छ देखि सात वर्षसम्म पुगेकाे बताउनुभयो । कार्यालयले यात्रुको सुरक्षाका लागि लाइफ ज्याकेट सम्बन्धि त्यस्तो गुणस्तरीय चेकजाँच नगरेको उहाँको भनाइ छ। ३० देखि ४० ज्याकेट काम नलाग्ने भएको उहाँले स्विकार्नु भयो । डुङ्गा चड्ने यात्रुको चापका कारणले क्षमता भन्दा बढी यात्रु राख्ने गरेको कार्यालय सचिव बमले बताउनुभयो ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख राजु घिमिरेका अनुसार सेवाग्राहीको गुनासोलाई कार्यान्वयन हुने गरि यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको भरपर्दो र सुरक्षित यात्रालाई मध्यनजर गर्दै यहाँ भएका कमीकमजोरी छिट्टै सुधारिने बताउनुभयो ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ