भोजपुर । नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा भोजपुर आउने टोलीलाई ५७ वटा घरमा बस्ने व्यवस्था मिलाइएको छ ।
यात्राका विषयमा जानकारी दिन भोजपुर सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा यात्रामा सहभागीहरूलाई भोजपुर नगरपालिका भित्रका ७ वडाका ५७ घरमा तीन सय जनालाई बस्ने व्यवस्था मिलाइएको जानकारी गराइएको छ । होटलमा नभएर टोलीलाई वडा भित्रका नेता कार्यकर्ताको घरमा राख्ने व्यवस्था मिलाइएको पार्टीले जनाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली सहितको टोलीले भोजपुर र खोटाङको सिमानामा रहेको चखेवा भन्ज्याङमा आगामी मङ्सिर २७ गते झाँकी सहित स्वागत गर्ने कार्यक्रम रहेको प्रेस चौतारी नेपाल भोजपुरका अध्यक्ष मोहन दुरालले जानकारी दिनुभयो ।
पार्टी अध्यक्ष ओलीबाट सो क्रममा जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुँदै सम्बोधन, माग पत्र बुझ्ने, धातु उद्योगीहरूसँग अन्तरक्रिया, सर्वदलीय माग पत्र बुझ्ने लगायतका कार्यक्रम हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
अध्यक्ष सहितको सङ्कल्प यात्राको टोली मङ्सिर २८ गते भोजपुरका विभिन्न कार्यक्रममा सहभागी हुँदै धनकुटा प्रस्थान गर्ने कार्यक्रम रहेको एमाले भोजपुरले जनाएको छ ।
कार्यक्रमलाई जिल्ला तहमा भब्यरुपमा सञ्चालन गर्नका लागि आवश्यक तयारी पार्टी तहबाट भई रहेको जिल्ला अध्यक्ष शरण कुमार राईले बताउनुभयो । गत मङ्सिर १४ गतेबाट सुरु सङ्कल्प यात्रा पुष्पलाल मध्य पहाडी लोकमार्ग अन्तर्गत पाँचथरको चिवाभञ्ज्याङमा समापन हुने छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ