बुधबार, चैत्र २५, २०८२

एसपी बढुवाको सकस : ७ पदका लागि १२ डीएसपीको दौडधूप


कान्तिपथ


काठमाडौं । प्रहरी प्रधान कार्यायलयलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सकस परेको छ । एसपीको सात रिक्त पदका निम्ति १२ प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिस्पर्धामा छन् ।

उनीहरू सबैले एकसाथ ०६१ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन् । उनीहरू ०७२ साउन १ गते डीएसपीमा बढुवा भएका थिए ।

उनीहरूसँगैका केही डीएसपी भने गएको वैशाखमै बढुवा भइसकेका छन् । यो ब्याचका डीएसपी तीन चरणमा बढुवा भएर एसपी बन्नेछन् ।

१२ डीएसपीमध्येबाट अहिले सातजना मात्र बढुवा हुनेछन् । पाँचजना अझै छुट्नेछन् । सोही कारण अहिले बढुवामा प्रहरी प्रधान कार्यालयलाई सकस परेको हो ।

गएको मंसिर ५ गते पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका थिए । त्यससँगै एसपीतर्फ रिक्त दरबन्दीको संख्या सात पुगेको हो । त्यसअघि, एसपीतर्फ दुई दरबन्दी रिक्त थियो ।

१२ जनामध्ये हाल बढुवाको पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन् । त्यसपछि क्रमशः अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जन दत्त भट्ट छन् ।

यस्तै, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे एसपीको प्रतिस्पर्धामा छन् । प्रहरी प्रधान कार्यालयले १२ जनामध्येबाट नै उत्कृष्ट कार्यसम्पादन भएका डीएसपीको बढुवा गर्ने तयारी गरेको छ ।

प्रतिस्पर्धी १२ जनाले नै आफ्नो बढुवाका निम्ति विभिन्न शक्तिकेन्द्रमार्फत प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरमाथि दबाब सिर्जना गरिरहेका स्रोतको भनाइ छ । एसपीसम्म बढुवाको अधिकार आईजीपीलाई हुन्छ । एसएसपीदेखि माथिल्लो तहको बढुवा गृह मन्त्रालयका सचिवको अध्यक्षताको बढुवा समितिले गर्ने गर्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत