बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ मा प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले पत्राचार गरेका छन् ।
सत्तासाझेदार दलका नेताहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेल साउन ६ मा विश्वासको मत लिने निर्णयमा पुगेका बागमती प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।
संघीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा एमालेबाट सहभागी पाँच जना मन्त्रीले गत असार २४ मा राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएपछि त्यसको प्रक्रियाका लागि यही साउन ६ दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गर्ने तयारी गरिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
गत २०७९ पुसमा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीको समर्थनमा माओवादी केन्द्रका नेता जम्कट्टेल मुख्यमन्त्री बनेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ