काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेको विभिन्न उद्योगको बिजुली जोड्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।
डेडिकेटेड र ट्रंक लाइन विवाद देखाएर घिसिङले पछिल्लो समय ६ उद्योगको लाइन काटेका थिए ।
त्यसले उद्योग क्षेत्रलाई असर परेको भन्दै शुक्रबार उद्योग, ऊर्जा एवम् प्राधिकरणका पदाधिकारी र उद्योगीहरूबीच सामूहिक छलफल गर्दै प्रधानमन्त्री खड्गप्रसादले यस्तो निर्देशन दिएका हुन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री खड्गप्रसादको निर्देशनपछि घिसिङले सञ्चालक समिति बैठक बसेर यसबारे निर्णय लिने बताएका थिए ।
सोही अनुसार बोर्ड बैठक बसी विद्युत् सुचारु हुने समेत बताइएको छ । महसुल विवाद भने थप अध्ययन गरी निष्कर्षमा पुगिने प्रधानमन्त्री ओलीले बताएको स्रोतको भनाइ छ ।
प्राधिकरण र उद्योगी दुवैतर्फबाट आउने विषयहरु अध्ययन गरी एक निष्कर्षमा पुग्ने र सोही आधारमा मन्त्रिपरिषदबाट निर्णय गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् । छलफलमा उद्योग, वाणिजय तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ एवम् मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो ।
उद्योगीहरूले भने, नक्कली बिल नतिर्ने भन्दै प्राधिकरणमाथि दबाब दिइरहेका थिए । घिसिङले लाइन काटिएका उद्योगमा पुनः लाइन जोड्न प्राधिकरणको बोर्डको निर्णय चाहिने र त्यसका लागि आइतबारसम्म पर्खनुपर्ने बताए ।
प्रथम पटक प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो । दोस्रो चरणमा प्राधिकरणले जगदम्बा सिन्थेटिक र हुलास स्टिलको लाइन काटिदिएको थियो । तेस्रो पटक जगदम्बा स्टिलको विद्युतको लाइन काटेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ