राजविराज । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौ दिन शुक्रबार मधेश प्रदेशअन्तर्गत सप्तरीबाट १३ जनाको उद्धार भएको छ ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो ।
मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार राजविराज नगरपालिका वडा- ७ बाट ४ जना, वडा- ६ बाट ३ जना र वडा- १ बाट १ गरि ८ जना र त्यस्तै सप्तकोशी नगरपालिका-१ बाट ५ जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएका ११ जना पुरुष र २ जना महिलालाई शुक्रबारै मानवसेवा आश्रम सर्लाही सेवा केन्द्रमा गृह प्रवेशका लागि लगिएको छ । उद्धार टोली शनिबार लहान र जनकपुरधाम क्षेत्रमा बेवारिसे अवस्थामा रहेका मानवहरुको उद्धार सेवामा रहनेछ । उद्धार यात्रा टोली तथा स्थानीय जनप्रतिनिधिहरुद्वारा शुक्रबार बिहान संयुक्त रुपमा सचेतनामूलक र्याली प्रदर्शनसहित राजविराज नगरपालिकाको परिक्रमा गर्दै नगरपालिकाको प्राङ्गणमा जम्मा भई राष्ट्रिय उद्धार यात्राकाे उद्देश्यबारे जानकारी गराइएको थियो ।
मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले चाडपर्वको समयमा सडकआश्रित मानवहरुको उद्धार गरी उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउने उद्देश्यका साथ यात्रा सुरु गरिएको बताए । यात्राका क्रममा जनप्रतिनिधि, प्रहरी प्रशासन, पत्रकार, विभिन्न संघसंस्थाबाट अपार माया र सहयोग पाएको भन्दै उनले खुसी व्यक्त गरे ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ