शनिबार, मंसिर २०, २०८२

२७ वर्षदेखि खानेपानी योजना अधुरै


कान्तिपथ


सप्तरी । सत्ताइस वर्षदेखि खानेपानी निर्माणको योजना अधुरै रहँदा यहाँका नागरिक शुद्ध खानेपानीबाट बञ्चित भएका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ स्थित हनुमानगर बजारमा २७ वर्ष अगाडि नै निर्माण सुरु गएको खानेपानी आयोजना अहिलेसम्म पनि पूरा हुन सकेको छैन ।

स्थानीय स्वास्थ्यचौकी परिसरमा २०५४ सालमा निर्माण थालिएको खानेपानी योजना हालसम्म पिउने पानी योग्य बन्न नसकेको स्थानीयले बताएका छन् । तत्कालीन हनुमानगर गाउँ विकास समितिको पहलमा आयोजना सुरु गरिएको थियो ।

हनुमाननगर कंकालिनी नगरपालिका–७ का अमन यादवले खानेपानी आयोजना पूरा नहुँदा करिब दश हजार भन्दाबढी जनता प्रभावित भएको बताए ।

हनुमाननगर कंकालिनी नगरपालिकाले पनि यसप्रति कहिले पनि चासो नदिएको नेपाली कांग्रेसका प्रदेश सचिवसमेत रहेका बेचन खड्काले बताए ।

स्थानीय राजेन्द्र मिश्रले खानेपानी ट्यांकी निर्माण ७५ प्रतिशत भए पनि राजनीतिक खिचातानीले काम पूरा हुन नसकेको बताए ।

‘पानी ट्यांकी निर्माण गरी पाइपलाइन विच्छ्याउने काम अधुरै छ, नगरवासी ट्युवेलको आइरनयुक्त पानी खान बाध्य छन्,’ उनले भने । आयोजना तीन करोडको लागतमा निर्माण सुरु भएको थियो ।

आयोजनाको काम अधुरै भएपछि दोस्रो पटक २०७४ सालमा बोलपत्र आह्वान गरिएको थियो । तत्कालीन समयमा शान्ति निर्माण सेवा फर्सेठले निर्माणको जिम्मा पाएको थियो । फर्सेठका सञ्चालक नारायण यादवले आफूहरूले १३ लाख भुक्तनी नपाएपछि काम रोकिएको बताए ।

कोशीको तटीय क्षेत्रमा पर्ने हनुमाननगर कंकालिनी नगरपालिकामा १४ वटा वडा छन् । नगरपालिका उत्तरमा पूर्व–पश्चिम राजमार्गसँग जोडिएको छ भने दक्षिणतर्फ भारतीय सिमानासम्म फैलिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत