काठमाडौँ । भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा कुनै शङ्कास्पद वस्तु फेला नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानमा बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो ।
उक्त विमानमा कुनै पनि शङ्कास्पद वस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित रूपमा सञ्चालन भइरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।
उनले विमानमा शङ्कास्पद वस्तु फेला नपरेपछि विमानलाई खतरामुक्त घोषणा गरिएको बताए ।
“विमानको बाहिरी, भित्री र यात्रु तथा सबै सामान चेक जाँच सुरु गरेको भएतापनी तर शङ्कास्पद वस्तु फेला नपरेपछि विमानलाई खतरामुक्त पनि घोषणा गरिएको सूचना अधिकारी भूलले बताए ।“
अहिले विमानस्थलको सबै उडान सामान्य अवस्थामा सञ्चालन भइरहेका छन् । व्यागेज सम्बन्धित यात्रुलाई हस्तान्तरण गर्ने काम भइरहेको छ । उक्त विमानले नियमित उडानमा काठमाडौँबाट यात्रु लिएर नयाँदिल्ली उड्ने तयारीमा रहेको छ ।”
भारतको नयाँदिल्लीबाट काठमाडौँस्थित विमानस्थलमा दिउँसो ४ः३० बजे अवतरण गरेको भिस्ताराकोे उडान नम्बर ‘यूके १५५’ भएको विमानमा बम राखेको हल्लापछि सेनाको डिस्पोजल टोलीले दिउँसो ४ः३० बजेदेखि साँझ ७ बजेसम्म विमानको जाँच गरेको थियो ।
अज्ञात समूहले भिस्ताराको एयरबस ए ३२० विमानमा बम रहेको धम्कीपूर्ण सूचना आएपछि काठमाडौँ विमानस्थलमा उक्त विमानलाई पार्किङवेबाट अलग्गै राखेर सुरक्षा जाँच गरिएको थियो । विमानका यात्रुहरुलाई विशेष रुपमा शरीर खानतलासी गरेर उच्च निगरानीका साथ अध्यागमनबाट बाहिर पठाइएको थियो ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार भिस्तारा एयरको विमानमा बम राखेको हल्लापछि सेनाको विस्फोटक पदार्थ निष्क्रय गर्ने विशेष टोलीले खानतलासी गरेको थियो । विमानमा सवार एक सय ५७ यात्रुलाई खानतलासी गर्दा कुनै शङ्कास्पद वस्तु फेला नपरेको उनले बताए ।
बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा अनुसन्धान गरिएको हो । File photo
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ