बिहिबार, माघ १, २०८२

किसानलाई गहुँ छर्ने चटारो


कान्तिपथ


यतिबेला बैतडीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका किसानलाई गहुँ छर्ने चटारो छ। उच्च लेकाली क्षेत्रमा किसानले गहुँ छर्ने कार्य अन्तिमचरणमा पुर्‍याएका छन् भने बेँसी क्षेत्रमा मङ्सिर दोस्रो सातासम्म गहुँ छर्ने गरिएको छ।

दोगडा केदार गाउँपालिका– ३ का नारद भट्टले किसानलाई हाल गहुँ छर्ने चटारो रहेको बताए। सिँचाइ सुविधा नभएका ठाउँमा गहुँ छर्ने कार्य भइरहेको छ। उनले भने, ‘चिसो ठाउँमा कात्तिक पहिलो सातादेखि नै गहुँ छर्ने कार्य सुरु भएको छ। हाल यहाँका किसान गहुँ छर्ने कार्यमा व्यस्त छन्।’

लेकाली क्षेत्रमा पछि चिसो बढ्ने भएकाले कात्तिक पहिलो सातादेखि नै गहुँ छर्ने गरिएको किसानले बताएका छन्। कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले कात्तिक पहिलो सातादेखि नै गहुँ छर्ने कार्य सुरु भएको र लेकाली क्षेत्रमा लगभग गहुँ छर्ने कार्य सकिन लागेको बताए।

गहुँ छर्दा पहिला खेतलाई खनजोत गरेर गोबरमल हाल्ने गरिन्छ। कतिपय ठाउँमा गहुँ छरेपछि मात्रै गोबर मल हाल्ने चलन रहेकाले त्यो गहुँका लागि उपयुक्त नभएको चौधरीको भनाइ छ। ‘गोबर मललाई माटोमा मिसाएपछि गहुँ छर्न उपयुक्त हुनेछ। गहुँ छरेपछि गोबरमल हालेमा त्यसमा भएको तत्व नष्ट हुने भएकाले गहुँ छर्नुभन्दा पहिला गोबर मल हाल्नुपर्छ,’ उनले भने।

बैतडीमा डब्लु के १२०४ जातको गहुँको बीउ बढी प्रयोग भइरहेको छ। बैतडीमा १५ हजार चार सय हेक्टर क्षेत्रफमा गहुँखेती गरिने भए पनि आधाभन्दा बढी क्षेत्रमा सिँचाइको अभाव रहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत