सुनसरी । तराई मधेस क्षेत्रमा दाइजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् ।
मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका व्यक्तिले छोरी/चेलीको विवाह गर्दा दाइजोमा गच्छेअनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले पनि शक्तिअनुसार फर्निचर, गरगहना तथा अन्य सामग्री दिनु सामान्य नै हो । हुन त हिन्दु नेपाली समाजमा देशभरि नै यस्तो प्रचलन छ ।
आज हामी तपाईँहरूले योभन्दा फरक प्रचलन सुनाउँदै छौँ, जो सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । यस्तो आश्चर्य लाग्ने प्रथा हो यहाँका मरिक समुदायको, जहाँ आजपर्यन्त छोरी/चेलीको विवाह गर्दा दाइजोमा गाउँ नै दिने गरिएको छ ।
सुनसरीका विभिन्न क्षेत्रमा बसोबास गर्ने मरिक समुदायका व्यक्तिले अहिले पनि छोरीको बिहेमा गच्छेअनुसार गाउँ नै दाइजोको रूपमा दिने प्रचलन रहेको सुनसरी हरिनगर–२ का अगुवा भट्टाई मरिकले जानकारी दिए ।
शनिबार मरिक समुदायले छठका लागि बाँसका सामग्री बनाइरहेका बारे रिपोर्टिङ गर्न गएका हामीलाई उनले त्यो कुरा सुनाउँदा हामीलाई पनि त्यस्तै आश्चर्य लागेको थियो ।
मरिक समुदायका व्यक्तिले छोरीको बिहे गर्दा ज्वाइँ गाउँमा नै बसोबासका लागि राजी भएमा एउटा गाउँ नै दाइजो स्वरूप दिने गरेको भट्टाईले सुनाए ।
उनको कुरा सुनेपछि हामीले हरिनगर–३ का चन्दन मरिकलाई यसबारे जिज्ञासा राख्यौँ । जवाफमा उनले भने,“हो नि हजुर ज्वाइँ राजी भएमा गाउँ नै दाइजोमा दिने चलन छ । यसको उद्देश्य भनेको छोरीचेली र भोलि जन्मिने सन्ततिलाई सहज होस् भन्ने हो ।”
मरिक समुदायको मुख्य पेसा सरसफाइ गर्ने, बिहेवारिमा आफ्नो गाउँका यजमानलाई बाँसको सामग्री पुर्याउने, चाडबाडका बेलामा बाँसका सामग्री बनाएर बिक्रीवितरण गर्नु हो ।
चाडपर्व, व्रतबन्धलगायत अवसरमा बाँसको सामग्री प्रयोग अनिवार्य भएकाले एक जनाको गाउँमा अर्को मरिक समुदायका व्यक्तिले बिक्रिवितरण गर्न नपाइने आन्तरिक सहमति हुने गरेको छ ।
विशेष गरेर ग्रामीण भेगमा बसोबास गर्ने नागरिकले तोकिएका व्यक्तिबाटै विभिन्न सामग्री लिने गरिन्छ । यजमानले लिएको सामग्रीबापत मरिक समुदायका व्यक्तिले चामल, धान, गहुँ, नगद र बाँस लिने गरेका छन् ।
विभिन्न किसिमका सामग्री बिक्रीका लागि बजारमा जानुपर्ने वा गाउँघरमै पसल गरेर बिक्री गर्नुपर्ने बाध्यता भए पनि मरिक समुदायका व्यक्तिले आफूले बनाएको सामग्री बिक्री गर्नका लागि गाउँ नै बाँडफाँट गरेको हुन्छ ।
कुन गाउँ वा टोलमा कुन परिवारले कारोबारको जिम्मा लिने भनेर आपसी समझदारी हुन्छ । एकले अर्काको गाउँमा सामग्री बिक्री गरेमा समाजले जरिवानासमेत गर्ने गरिएको छ ।
आफ्नो क्षेत्र बेच्न चाहनेले कारोबार अनुसारको रकम लिई बेच्नसमेत सक्ने चलन रहेको छ ।
एक गाउँ बेच्दा रु तीन लाखदेखि चार लाख वा सामाजिक मूल्याङ्कनअनुसार रकम लिने दिने गरिन्छ ।
सोही गाउँ मरिक समुदायका व्यक्तिले छोरी–ज्वाइँलाई गाउँमै बस्ने सर्तमा दाइजो स्वरूप दिने गरिएको हरिनगर–२ का वीरेन्द्र मरिकले बताए । दाइजोमा दिएको गाउँमा उनीहरूले कारोबार गर्ने अनुमतिसमेत पाउने र मरिक समाजले त्यसलाई स्वीकार गर्ने चलन रहेको उनले सुनाए ।रासस
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ