सुर्खेत । कर्णाली प्रदेशमा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १ लाख २४ हजार ९६९ मेट्रिक टन धान उत्पादन भएको थियो भने आर्थिक वर्ष २०८१/८२ मा १ लाख ३० हजार ७९० मेट्रिक टन धान उत्पादन भएको छ।
अघिल्लो वर्षभन्दा ५ हजार २२१ मेट्रिक टन धान उत्पादन वृद्धि भएको थापाले जानकारी दिए। यो वर्ष ३९ हजार ७६३ हेक्टरमा धान बाली लगाइएको थियो।
कर्णालीमा सबैभन्दा कम धान उत्पादन डोल्पामा हुने गरेको छ। डोल्पामा ३५० मेट्रिक टन उत्पादन भएको छ। यहाँ खेतीयोग्य जमिन १९९ हेक्टर मात्र रहेको छ। मुगुमा ८८५ हेक्टरमा लगाएको धानबाली ९७५ मेट्रिक टन उत्पादन भएको छ। हुम्लामा ५५० हेक्टरमा एक हजार ३६ मेट्रिक टन धान उत्पादन भएको जानकारी गराएको छ। मर्सी धानको उत्पादन हुने जुम्लामा यो वर्ष अघिल्लो वर्ष जती धान उत्पादन भएको छ। त्यहाँ दुई हजार ९३० हेक्टरमा लगाएको धानबाली ६ हजार ३९५ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
कालिकोटमा अघिल्लो वर्ष भन्दा यो आवमा धान उत्पादन वृद्धि भएको छ। यहाँ अघिल्लो आवमा दुई हजार ४१५ हेक्टरमा धान खेती गरिएकोमा यो आवमा २ हजार ४२५ हेक्टरमा विस्तार भएको छ। यहाँ ५ हजार ५०० मेट्रिक टन उत्पादन भएको छ। यो अघिल्लो आवभन्दा २१८ मेट्रिक टन बढी हो।
रुकुम पश्चिममा २ हजार ६४ हेक्टर जमिनमा पाँच हजार ४८५ मेट्रिक टन धान उत्पादन भएको छ। रुकुम पश्चिममा समेत यो पटक क्षेत्रफल बढेको छ। पाँच हेक्टर क्षेत्रफल धान उत्पादनका लागि बढेको छ। सल्यानमा २३ हजार ६३० मेट्रिक टन धान उत्पादन भएको छ। ६ हजार ७६० हेक्टरमा धानबाली सल्यानमा लगाइएको थियो। सल्यानमा समेत यो आवमा खेतीयोग्य जमिन बढ्नुका साथै धान उत्पादनसमेत अघिल्लो वर्षभन्दा बढेको छ। ८ हजार ७८५ मेट्रिक टन धान जाजरकोटमा उत्पादन भएको छ। दुई हजार ५६० हेक्टरमा धानबाली लगाएकोमा अघिल्लो आवभन्दा राम्रो धान उत्पादन भएको हो।
क्षेत्रफल समेत अघिल्लो आव भन्दा यो आवमा बढेको छ। त्यस्तै दैलेखमा २५ हजार १२० मेट्रिक टन धान उत्पादन भएको छ।
जुन अघिल्लो आब भन्दा १ हजार ६२० मेट्रिक टन धान कम उत्पादन भएको छ। ७ हजार ९२५ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो । सुर्खेतमा यो आवमा धानबाली उत्पादन बढेको छ। ५२ हजार ९०४ मेट्रिक टन धान उत्पादन भएको छ।
अघिल्लो आवभन्दा ५ हजार ९०९ मेट्रिक टन धान उत्पादन बढेको हो। १३ हजार ७६५ हेक्टरमा धानबालीको खेती गरिएको थियो। कर्णालीमा ३९ हजार ७६३ हेक्टरमा लगाएको धानबाली १ लाख ३० हजार १९० मेट्रिक टन उत्पादन भएको छ।
२७.५५ प्रतिशत अर्थात ८२ हजार ४५९ हेक्टर जमिन कर्णालीमा जमिन बाँझो छ। वर्षभर सिँचाइ हुने जमिनको क्षेत्रफल ३८ हजार २३३ हेक्टर छ भने आंशिक रूपमा सिँचाइ रहेको क्षेत्रफल ३० हजार ४०७ छ। रासस
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ