बुधबार, चैत्र २५, २०८२

भुटनिज नेपालीको कथामा बन्ने ‘ल्हो-छाम्पा’को घोषणा


गणेश विक


काठमाडौं । सन् १९९० को दशकमा भुटानबाट विस्थापित हुन बाध्य भुटनिज शरणार्थीको कथामा ‘ल्हो–छाम्पा’ शीर्षकको चलचित्र बन्ने भएको छ ।

 चलचित्रले भुटानबाट नेपालीभाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्धन्द्धलाई प्रस्तत गर्ने जनाइएको छ । ‘ल्हो–छाम्पा’ भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउने शब्द हो । 

चलचित्रलाई नक्षत्र लाइभ म्युजिकका लागि अर्जुन सुवेदीले निर्माण गर्नेछन् । तेस्रो देश पुनर्वासका क्रममा हाल अमेरिकामा रहेका सुवेदीले नक्षत्र फाउन्डेसन र नक्षत्र लाइभ म्युजिक मार्फत् नेपाली गीत संगीत र कलाका विविध विधामा योगदान गरिरहेका छन् । निर्माता सुवेदीले आफूले भोगेको कालबेलालाई आउँदा पुस्तालाई दस्तावेजीकरण गर्ने उद्देश्य साथ चलचित्र निर्माणमा अग्रसर भएको बताएका छन् ।

‘भुटानदेखि नेपालका शरणार्थी शिविरसम्ममा हाम्रो पुस्ताले जे भोग्यो, त्यो कुरा पछिको पुस्ताका लागि पनि दृश्यको माध्यममा संरक्षित रहोस् भन्ने उद्देश्यले यो चलत्रि निर्माण गरेका हौँ । तर यो कथालाई हामी रमाइलो गरी वाचन गर्नेछौँ,’सुवेदीको भनाइ छ । 

चलचित्रलाई नरेशकुमार केसीले निर्देशन गर्नेछन् । उनको यो तेस्रो निर्देशकीय चलचित्र हुनेछ । नरेशले यसअघि ‘डाइङ क्यान्डल’ र ‘रोमियो एन्ड मुना’ गरी दुई चलचित्र निर्देशन गरेका छन् । उनले चलचित्रले मान्छेको स्मृतिदंश र पहिचानबिनाको अवस्थालाई प्रस्तुत गर्ने बताए ।
 
‘मानिस जहाँ गए पनि उसलाई उसको स्मृतिले पछ्याइरहन्छ । यो चलचित्रले पनि स्मृति र मान्छेको भूगोलसँग जोडिएको पहिचानको कथा भन्छ । सँगसँगै कथाले आप्रवासनका आयामलाई पनि समेट्ने छ’,नरेशले बताए ।

 
चलचित्रमा सामीप्यराज तिमल्सेनाको पटकथा र अर्जुनको पोखरेलको संगीत रहनेछ । संगीतकार पोखरेलले चलचित्रमा कथासँग जोडिएर आउने गरी गीत तयार गरिने जानकारी गराए । 

 
चलचित्रका लागि कलाकार तथा प्राविधिकको टुंगो लाग्न बाँकी छ । निर्माता सुवेदीले केही दिनमै कलाकार र प्राविधिकको नाम सार्वजनिक गर्ने जानकारी गराए । उनले चलचित्रको सुटिङ वैशाखको दोस्रो हप्तादेखि गर्ने योजना रहेको जनाएका छन् । 
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत