बुधबार, फाल्गुन ६, २०८२

३ हजार ५ सय जनाको निशुल्क मुटु जाँच


गणेश विक


गोरखा । गोरखामा सञ्चालित दुई दिनको निःशुल्क मुटु स्वास्थ्य शिविरमा ३ हजार पाँच सय १० जनाले जाँच गराएका छन् ।

सदरमुकामस्थित गोरखा अस्पतालमा सम्पन्न शिविरमा सर्वसाधारणले मुटु जाँच गराएको आयोजक रोटरी क्लब अफ गोरखाका अध्यक्ष विनोदकुमार बस्यान्तले जानकारी दिए ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई नेतृत्वको ३२ जनाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शिविरमा आएकाहरुको मुटु जाँच गरेका थिए ।

शिविरमा जाँच गराएकामध्ये २८ जनाको मुटुको शल्यक्रिया गर्नुपर्ने देखिएको डा भट्टराईले बताए ।

‘‘मुटु जाँच गराएकामध्ये २८ जनालाई मुटुको थप उपचारका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर रिफर गरेका छौँ, उनले भने, ‘‘जसमा ६ जनाको तत्काल उपचार गर्नुपर्ने अवस्था छ ।’’ शिविरमार्फत चार सय १३ जनाले इसिजी जाँच गराए भने चार सय ७९ जनाले इको जाँच गराएको डा भट्टराईले जानकारी दिए ।

रोटरी क्लब अफ गोरखा तथा रोट्र्याक क्लब अफ गोरखाको संयुक्त आयोजना एवं सेभ द हर्ट, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, र गोरखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा जाँच गराएका बिरामीलाई आवश्यकताका आधारमा निःशुल्क औषधिसमेत उपलब्ध गराइएको छ ।

शिविरमा मुटु जाँच गराएकामध्ये शल्यक्रिया गर्नुपर्ने सबै बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको शिविर आयोजक समितिका संयोजक किशोरजङ्ग थापाले बताए ।

शिविरमार्फत बिरामीलाई करिब रु ५० लाख बराबरको स्वास्थ्य उपचार सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत