काठमाडौं । नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले प्रधानमन्त्री केपी शर्मा ओलाीलाई प्रश्न गर्ने पत्रकारको पास निलम्बन फिर्ता लिएर प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष आग्रह गरेको छ ।
शाखाका सचिव रमेशकुमार बाेहाेराले एक प्रेस विज्ञप्ति जारी गर्दै संसद्लाई पत्रकारद्वय किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन फिर्ता लिएर प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको हो ।
‘पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको हो,’ सचिव बाेहाेराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष आग्रह गर्दछ ।’
काठमाडौं शाखाले पेशागत धर्म निर्वाहका क्रममा पत्रकार आचारसंहिताको ख्याल गर्न पनि पत्रकार र सञ्चार माध्यमहरूको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा फागुन ४ गते प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दा पत्रकारद्वय श्रेष्ठ र ओलीले संसदीय मर्यादा र अनुशासनको उल्लघंन गरेको भन्दै संसद् सचिवालयले बुधबार प्रवेश पास निलम्बन गरेको छ ।
प्रेस विज्ञप्ति
प्रश्न सोधेकै कारणले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद सचिवालयले दिने प्रेस पास सचिवालयले एक महिनाका लागि निलम्बन गरेकोप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको ध्यानाकर्षण भएको छ । २०८१ फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लघन भएको भन्दै संघीय संसद सचिवालयले पास निलम्बन गरेको हो ।
सरकारको छायाँ संसद्मा र संसद सचिवालयमा पनि परेको देखियो । संसदले निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ । संसद सचिवालय जस्तो निकायबाट भएको यस्तो अहिलेसम्म नै नभएको गलत कदमले काठमाडौं शाखालाई थप चिन्तीत बनाएको छ ।
पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको हो । शाखा काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन तत्काल फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसदसमक्ष आग्रह गर्दछ ।
अतः यस किसिमका हर्कतले संविधानप्रदत्त पत्रकारको अधिकारमाथि आघात पुग्नुका साथै लोकतान्त्रिक मूल्यमान्यताको समेत उपहास भएको काठमाडौं शाखाको ठहर छ । शाखा प्रेसविरोधी यो हर्कतको कडा शब्दमा भत्सर्ना गर्दछ । संवैधानिक अधिकारको ख्याल गर्न र यस्ता घटना नदोहोर्याउन शाखा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।
रमेश कुमार बोहोरा
सचिव
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ