राजनीतिक क्षेत्रका जिम्मेवार व्यक्तिहरूबाट आउने अभिव्यक्तिहरू जनमत निर्माणमा गहिरो असर पार्ने गर्छन्। यही सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनद्वारा हालै गरिएको एक सार्वजनिक मन्तव्यले न केवल प्रहरी संगठनको निष्पक्षता र गरिमामाथि प्रश्न उठाएको छ, तर स्वयं लोकतान्त्रिक व्यवहारको तह समेत खस्किएको देखाएको छ।
लिङ्देनले काठमाडौंको तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनलाई लिएर प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापामाथि एमालेको युवा संगठनसँग सम्बन्धित रहेकाको आरोप लगाए। यस्तो दाबी कुनै प्रमाणबिना गरिएको मात्र होइन, गम्भीर संस्थागत आरोप हो जसले नेपाल प्रहरीजस्तो संवैधानिक संस्थाको निष्पक्षता र व्यावसायिकतामाथि आक्षेप लगाउँछ।
नेपाल प्रहरीको गठन, पदोन्नति र नेतृत्व चयन संविधान, कानुन र सेवा नियमावली अनुसार हुने गर्छ। प्रहरी महानिरीक्षकको नियुक्ति खुला प्रतिस्पर्धा, वरिष्ठता, क्षमता, सेवा अनुभव र निष्पक्ष कार्यशैलीको मूल्याङ्कनका आधारमा मन्त्रिपरिषदबाट गरिन्छ। यसले राजनीतिक पहुँच वा दलगत आग्रहको ठाउँ दिँदैन। यस्तो प्रक्रियामाथि प्रश्न उठाउनु भनेको सम्पूर्ण सुरक्षा संयन्त्रको नैतिक धरातललाई कमजोर बनाउने खतरनाक संकेत हो।
दीपक थापा एक अनुशासित, पेशेवर र दीर्घ अनुभव बोकेको प्रहरी अधिकृत हुन्। उनले नेतृत्व सम्हालेयता निष्पक्ष कार्यशैली, आपराधिक घटनामा कडाइ र प्रदर्शन व्यवस्थापनमा संवेदनशीलता प्रदर्शन गर्दै आएका छन्। तीनकुनेको घटनामा पनि प्रहरी संयमित देखिएको थियो। तर, यदि प्रदर्शन हिंसात्मक बन्छ भने त्यसको नियन्त्रण गर्नु सुरक्षा निकायको संवैधानिक कर्तव्य हो। र, त्यही कर्तव्य निर्वाह गर्दा प्रयोग भएका साधनप्रति यति गैरजिम्मेवार र भावनात्मक टिप्पणी गर्नु आफैंमा दूर्भाग्यपूर्ण छ।
अझ खेदको कुरा त तब हुन्छ जब कुनै निर्वाचित सांसद अश्रुग्यासको बोतलको “एक्सपायरी डेट” को कुरा गरेर सामान्य जनतालाई भड्काउने प्रयास गर्छन्, तर न त तिनको स्रोतबारे निश्चित जानकारी दिन्छन्, न त प्रमाण। यस्ता टिप्पणीले राज्य संयन्त्रमाथि जनविश्वास खस्क्याउने मात्र होइन, सुरक्षा निकायको मनोबलमा पनि प्रतिकूल असर पार्न सक्छ।
नेपाल प्रहरी राजनीतिक दलको भातृ संगठन होइन, न त यो कुनै सत्ता पक्षको विस्तार। यो एक स्वतन्त्र, संवैधानिक अंग हो जसको पहिलो दायित्व हो – कानुनको शासन, नागरिकको सुरक्षाको प्रत्याभूति र सामाजिक शान्ति। त्यसैले, प्रहरी प्रमुखलाई दलविशेषको ‘प्रतिनिधि’ भनेर चित्रण गर्नु स्वयं लोकतान्त्रिक अभ्यासमाथि आघात हो।
राजनीतिक नेताहरूबाट अपेक्षा गरिन्छ कि उनीहरू आफ्नो आलोचना र असन्तुष्टि तथ्य, प्रमाण र प्रक्रियागत समझदारीका आधारमा व्यक्त गरून्। तर, जुन तरिकाले लिङ्देनले व्यङ्ग्यात्मक भाषा प्रयोग गर्दै थापाको चरित्र हत्या गर्ने प्रयास गरे, त्यो न सांसदको गरिमासँग मेल खान्छ, न राष्ट्रिय पार्टीको जिम्मेवारीसँग।
सुरक्षा निकायहरूको निष्पक्षता र व्यावसायिकतामाथि खण्डन गर्दा जनप्रतिनिधिहरूले दोहोरो ध्यान दिनुपर्छ। राज्यको स्थायित्व र जनविश्वासका लागि सुरक्षा निकायहरूको गरिमा रक्षा गर्नु हामी सबैको साझा दायित्व हो।
अन्त्यमा, प्रहरी संगठनप्रति अनावश्यक शंका उब्जाउने प्रयास रोक्नुपर्छ र दीपक थापा जस्ता पेशेवर नेतृत्वलाई धन्यवाद दिनुपर्छ जसले गाह्रो घडीमा पनि शान्ति, सुरक्षा र व्यावसायिकता कायम राख्न सकिरहेका छन्। प्रहरी, प्रहरी भएर बसिरहेको छ—अब नेताहरू पनि नेता भएर बस्ने समय हो।
उक्त भाषणको क्लिप सुन्दा अध्यक्ष लिङ्देनले प्रहरी प्रमुख थापालाई फुली लगाइदिने दलका नाइकेहरू सधैँ सत्तामा रहँदैनन् भन्ने कुराको हेक्का राख्न आग्रह गरे । ‘म भन्न चाहन्छु– प्रहरी, प्रहरी भएर बस्नुपर्छ । कुनै राजनीतिक दलको भातृ संगठन भएर बस्ने होइन । तपाईंलाई त्यो फुली लगाइदिने दलका नाइकेहरू र सिफारिस गर्नेहरु सधैँ सत्तामा रहँदैनन्’, उनले भने, ‘तिनीहरूको सधैँ हालिमुहाली चल्दैन । यो कुरा याद राख्नु, प्रहरी, प्रहरी भएर बसेको राम्रो ।’
यहाँ उनले तपाईंलाई त्यो फुली लगाइदिने दलका नाइकेहरू र सिफारिस गर्नेहरु सधैँ सत्तामा रहँदैनन् भनेर कतै उनकै पार्टीका सांसद तथा पुर्व आईजीपी ध्रुवबहादुर प्रधान र पुर्व राजा ज्ञानेन्द्र शाहलाई जिस्काएका त हैनन् ? प्रधान शाही शासन कालमै आईजीपी नियुक्त भएको राप्रपा यति छिट्टै बिर्सेको हो ? कि प्रधान राप्रपाका उपाध्यक्ष समेत हुन् भन्ने कुरा जनताले बिर्सिनु पर्ने हो ? आफ्नो पार्टी उपाध्यक्ष पुर्व आईजीपीलाई बनाएर वहालवाला आईजीपीलाई युवासंघको उपाध्यक्षको ट्याग लगाउने लिङ्देनमा बौद्धिक दिवालियापन देखियो भन्दा कुनै भिन्न अर्थ लाग्छ र ?
लिङ्देनले याद राख्नु पर्ने कुरा के हो भने उनी जसलाई फ़र्काउछु भनेर लागि परेका छन् तिनैले नपत्याएका व्यक्ति हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपालाई कब्जा गरेर नवराज सुवेदी, रवीन्द्र मिश्र र धवल शमशेर राणालाई निर्मलनिवासतिर तानेपछिको रनाहामा छन् लिङदेन । राजाले नपत्याएको राजावादीलाई गणतन्त्रवादीले पत्याईदिनुपर्ने ? यहाँ स्मरणीय के छन् भने राजतन्त्रको दुहाई दिंदै लिङ्देन गणतन्त्रमा उपप्रधान तथा उर्जामन्त्री समेत खाए, अहिले आमजनता प्रश्न गर्छन लिङ्देनलाई मन्त्री हुँदा पिर्के सलामी नेपाल प्रहरीले दियो कि युवा संघले ?
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ