मङ्लबार, बैशाख ३०, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • गौशाला–सम्सी सडकको नामकरणमा स्थानीयको विरोध, ‘गोरेबहादुर खपांगी मार्ग’ बदर गर्न माग

गौशाला–सम्सी सडकको नामकरणमा स्थानीयको विरोध, ‘गोरेबहादुर खपांगी मार्ग’ बदर गर्न माग


कान्तिपथ


ममता विश्वकर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाले प्रमुख हुलाकी सडक खण्डको नाम परिवर्तन गरी ‘गोरेबहादुर खपांगी मार्ग’ राख्ने निर्णय गरेपछि स्थानीयस्तरमा कडा विरोध सुरु भएको छ।

समाजिक सद्भाव खल्बल्याउने आशंका सहित नागरिक, राजनीतिक दल तथा अभियन्ताहरुले सडकको नामकरण तत्काल खारेज गर्न माग गरेका छन्।

नगरपालिकाले चैत्र ३१ गते सम्पन्न १३ औं हिउँदे अधिवेशनमार्फत् गौशाला नगरपालिका क्षेत्रभित्र पर्ने पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको २६.५ किलोमिटर लामो सडक खण्डलाई ‘गोरेबहादुर खपांगी मार्ग’ नाम दिने निर्णय गरेको थियो।

उक्त निर्णयले सामाजिक सञ्जालदेखि सडकसम्म व्यापक बहस र विरोध निम्त्याएको छ।

स्थानीयहरुको प्रतिरोध

गौशाला बजारका युवाहरुले ‘गौशाला रोड’ नाममै परिचित रहेको सडकलाई एकल व्यक्तिको नाममा राख्नु सामाजिक एकतालाई खल्बल्याउने प्रयास भएको बताएका छन्। उनीहरुले ‘गौशाला रोडको नाम परिवर्तन गर्न पाइँदैन’, ‘स्थानीय सरकारको निर्णय खारेज गर’ लगायतका नारा लेखिएका पोस्टरसहित सांकेतिक प्रदर्शनसमेत गरेका छन्।

राजनीतिक प्रतिक्रिया

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का स्थानीय नेता प्रमोद महतोले पनि उक्त निर्णयको विरोध जनाउँदै सडकको नामकरणले धार्मिक र जातीय सद्भावमा आँच पुर्‍याउने बताएका छन्।

“संघीय सरकारले निर्माण गरेको सडकमा स्थानीय सरकारले राजनीतिक लाभका लागि एक व्यक्तिको नाम टाँस्नु दुःखद् हो,” नेता महतोले भने। उनले गोरेबहादुर खपांगीलाई सम्मान दिन अन्य माध्यम रोज्न सकिने भए पनि मुख्य राजमार्गको नाम परिवर्तन उचित नहुने धारणा राखे।

स्थानीय अभियन्ताको आशंका

सडक नामकरणविरुद्ध अभियान सञ्चालन गरिरहेका इन्दल राउतले गौशाला बजारको ऐतिहासिक र सांस्कृतिक पहिचान मेटाउने षड्यन्त्र भएको आरोप लगाए। “गौशाला रोड नामको ऐतिहासिक महत्त्व छ। यसलाई हटाएर कुनै व्यक्तिको नाम राख्नु हाम्रो पहिचान मेटाउने कार्य हो,” राउतले भने।

सडकको भौगोलिक पहुँच

नामकरण गरिएको सडक गौशाला चौकबाट सुरु भई नेपाल–भारत सिमाना, सम्सीसम्म जोडिएको महत्त्वपूर्ण खण्ड हो।

भारतको बिहार राज्यको सीतामढी जिल्लासँग जोडिने उक्त सडक स्थानीय तथा अन्तर्राष्ट्रिय आवागमनका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

स्थानीयको माग

विरोधमा उत्रेका स्थानीयले नगरपालिकाको निर्णय तत्काल फिर्ता लिन अल्टिमेटम दिएका छन्। अन्यथा चरणबद्ध र सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत