काठमाडौं। नेपालको प्रमुख विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो ५६औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै वृक्षारोपण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार, बैशाख ६ गते बानेश्वर बहुमुखी क्याम्पस परिसरमा नेविसंघ इकाई कार्यसमिति बानेश्वरको आयोजनामा विविध कार्यक्रम गरी दिवस मनाइएको हो।
कार्यक्रममा वातावरण संरक्षणप्रतिको जागरुकता फैलाउने उद्देश्यले वृक्षारोपण गरिएको थियो भने दीप प्रज्वलन गरेर संघले आफ्नो ऐतिहासिक भूमिका र भविष्यप्रतिको अठोटलाई जनाएको थियो।
ईकाई कार्यसमितिका सभापति प्रेम श्रेष्ठका अनुसार, “वातावरण संरक्षण, समृद्ध नेपालको आकांक्षा र विद्यार्थीको सिर्जनात्मक सक्रियता — यी तीन आधारलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको हो।” उनले कान्तिपथ डटकमसँगको कुरा गर्दै यस्तो कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक सरोकार र जिम्मेवारीप्रतिको चेतना बढाउने विश्वास व्यक्त गरे।
संघको इतिहास र वर्तमान सन्दर्भ
नेपाल विद्यार्थी सङ्घ हाल क्रियाशील रहेका विद्यार्थी सङ्गठनहरू मध्ये सबैभन्दा पुरानो विद्यार्थी सङ्गठन हो नेपाल विद्यार्थी सङ्घ। तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी सङ्घको स्थापना वि. सं. २०२७ सालमा भएको थियो। यस सङ्गठन व्यतिगत स्वार्थ माथी सम्बन्धि छैन। नेपाल विद्यार्थी सङ्घ एक ऐतिहासिक सङ्गठन र एक अनवरत सङ्घर्षिल संस्था हो ।
नेपालमा लोकतन्त्र, गणतन्त्र, शिक्षा सुधारलगायतका आन्दोलनमा यस संगठनको ऐतिहासिक भूमिका रहँदै आएको छ।
पछिल्लो समय विद्यार्थीहरूका हकहित, शैक्षिक सुधार र सामाजिक अभियानमा सक्रिय भूमिका खेल्दै आएको नेविसंघले आफ्नो स्थापना दिवसलाई केवल औपचारिकतामा सीमित नराखी सामाजिक अभियानमार्फत मनाउनु सकारात्मक पहलको रूपमा हेरिएको छ।
कार्यक्रममा प्रज्वलित दीपहरूले अन्धकारबाट उज्यालो तर्फको यात्रा, शान्ति, एकता र राष्ट्रिय जागरणको प्रतीकको रूपमा अर्थ दिइएको थियो। सहभागी विद्यार्थी, शिक्षक लगायतको उपस्थितिले कार्यक्रमलाई थप उत्साहजनक बनाएको थियो।
कार्यक्रममा वृक्षारोपणसँगै अन्त्यमा आयोजकहरूले यस्ता समाजोपयोगी र सिर्जनात्मक गतिविधिहरूलाई भविष्यमा पनि निरन्तरता दिने अठोट व्यक्त गरे। “शिक्षा मात्रै होइन, समाजको परिवर्तनमा पनि विद्यार्थीको भूमिका रहनेछ,” सभापति श्रेष्ठले जोड दिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ