प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार परिवर्तनको संकेत गरेका छन्। उनले केपी ओली नेतृत्वको वर्तमान सरकार असफल भइसकेको दाबी गर्दै माओवादी केन्द्र सरकारमा जानुपर्ने परिस्थित आउन सक्ने बताएका हुन्।
सिन्धुपाल्चोकको चौतारामा बिहीबार बेलुका वाईसीएल नेपालको पाचौँ जिल्ला सम्मेलनमा उनले भने, ‘एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बिचौलियाहरुले बनाएको पुष्टि भइसकेको छ। बिचौलियाहरू अहिले राष्ट्र बैंक कब्जा गर्न अर्बको डिल गरिरहेका छन्, अहिलेसम्म गभर्नर नबन्नुको कारण यही हो। हामीले ८४ सालसम्म सरकारमा नजाने भनेको हो, तर ओली सरकारले व्यवस्था बचाउन सकेन भने हामी सरकारमा जानुपर्ने हुनसक्छ। त्यतिबेला ८४ पर्खेर बस्नु हुँदैन, सरकारमा गए पनि जनताको काम गर्ने, जनपक्षीय माओवादी धार बनाउने र ८४ को चुनावको तयारी गर्ने काम नै हुन्छ।’
संविधान कार्यान्वयन र व्यवस्था बचाउने सवाल, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र घरेलु समस्याजस्ता सबै विषयमा सरकार असफल भएको आरोप उनले लगाए।
ओली सरकारकै कारण व्यवस्थामा प्रश्न उठाउँदै प्रतिगमनकारीहरू सतहमा आएको जिकिर उनले गरे। माओवादी केन्द्रका प्रभावशाली नेता पूर्वअर्थमन्त्री पुनले केपी ओली प्रवृत्ति कायम रहुन्जेल कम्युनिस्ट ध्रुवीकरण सम्भव नरहेको बताए। तर एमालेभित्र राम्रा कम्युनिस्ट नेताहरू रहेकाे र अन्य कम्युनिस्ट घटकसँग सहकार्य गर्नुपर्ने उनको भनाइ छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ