काठमाडौं। विश्वभरि आज मे ३ तारिख विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ।
संयुक्त राष्ट्रसंघको आयोजनामा १९९१ मा नामिबियाको विन्डहकमा सम्पन्न सम्मेलनपछि हरेक वर्ष मे ३ लाई प्रेस स्वतन्त्रताको सम्मानस्वरूप मनाउने गरिएको हो।
नेपालमा पनि यो दिवसले प्रेस स्वतन्त्रता, अभिव्यक्ति अधिकार र उत्तरदायी पत्रकारिताप्रति जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
यस अवसरमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, मिडिया संस्थाहरू तथा अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्ने सम्पूर्ण नागरिकहरूलाई शुभकामना व्यक्त गरेको छ।
महासंघका सचिव रमेशकुमार बोहोराले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा प्रेस स्वतन्त्रतामाथि पछिल्लो समय बढ्दो राजनीतिक, आर्थिक र कानुनी दबाब, पत्रकारहरूलाई लक्षित दमन र सूचना तथा अभिव्यक्तिको अधिकारमाथि हुने हस्तक्षेपले चिन्ता व्यक्त गरिएको छ।
“२०८१ चैत १५ गते पत्रकार सुरेश रजकको समाचार संकलनको क्रममा भएको हत्या स्वतन्त्र पत्रकारिता माथिको जघन्य आक्रमण हो,” महासंघद्वारा जारी सन्देशमा उल्लेख छ, “यस्ता घटनाहरू प्रेस स्वतन्त्रताको जग हल्लाउने र लोकतन्त्रलाई कमजोर बनाउने खालका हुन्। दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट माग हो।”
स्वतन्त्रता पत्रकारको मात्र होइन, नागरिकको हकको विषय हो
सन्देशमा प्रेस स्वतन्त्रता कुनै पेशा वा व्यक्ति विशेषको एकल अधिकार नभई सबै नागरिकसँग प्रत्यक्ष जोडिएको संवैधानिक अधिकार भएको स्मरण गराइएको छ। “सूचनाको हक नागरिकको मौलिक अधिकार हो। यसको संरक्षण र प्रवर्द्धन सरकार, सञ्चारगृह, नागरिक समाज र आम नागरिकहरूको साझा जिम्मेवारी हो,” विज्ञप्तिमा भनिएको छ।
महासंघले पत्रकारहरूलाई पनि पेशागत आचारसंहिता पालनासहित स्वतन्त्र, निडर र जिम्मेवार पत्रकारितामार्फत लोकतन्त्र सुदृढ पार्न आग्रह गरेको छ। “प्रेस स्वतन्त्रता जिन्दावाद!” भन्ने नारासहित पत्रकार महासंघले सबै पक्षलाई प्रेस स्वतन्त्रताको संरक्षणमा सक्रिय रहन अपिल गरेको छ।
विश्व प्रवृत्तिहरूमा पनि स्वतन्त्रता संकटमा
नेपालमा मात्रै होइन, विश्वका कैयौं देशहरूमा पनि प्रेस स्वतन्त्रता पछिल्लो वर्षहरूमा थप दबाबमा परेको छ। युद्ध, अधिनायकवादी शासन, सामाजिक सञ्जालमा फैलिने घृणाजन्य सामग्री र झूटा सूचनाको सञ्जालले पत्रकारहरूको काम अझ जटिल बनाएको छ। यस्ता चुनौतीबीच पनि सत्य र जिम्मेवार पत्रकारिता जारी राख्नु सबै सञ्चारकर्मीको साझा जिम्मेवारी हो।
विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को अवसरमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, मिडिया हाउस तथा अभिव्यक्ति स्वतन्त्रतामा विश्वास राख्ने नागरिकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।
संयुक्त राष्ट्रसंघको १९९१ मा नामिबियाको विन्डहक शहरमा सम्पन्न सम्मेलनपछि विश्वभर मे ३ तारिखलाई प्रेस स्वतन्त्रताको सम्मानमा मनाइँदै आएको यो दिवस नेपालमा पनि लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी पत्रकारिताको पक्षमा जनचेतना अभिवृद्धिको अवसरका रूपमा स्थापित हुँदै आएको छ ।
हालका दिनमा प्रेस स्वतन्त्रता विविध रूपका चुनौतीहरूसँग जुझिरहेको छ । सञ्चारमाध्यममाथि राजनीतिक, आर्थिक तथा कानुनी दबाब, पत्रकारमाथि बढ्दो दमन र अभिव्यक्ति स्वतन्त्रता सीमित पार्ने प्रयासले स्वतन्त्र पत्रकारितालाई गम्भीर संकटमा पारिरहेको छ । हालै २०८१ चैत १५ गते पत्रकार सुरेश रजकको समाचार संकलनको क्रममा भएको हत्याको घटना यस संकटको एक दुःखद उदाहरण हो । नेपाल पत्रकार महासंघ काठमाडौं शाखा यस्ता घटनाको निष्पक्ष छानबिनको माग गर्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने जोडदार माग गर्दछ ।
हामी स्मरण गराउँछौं कि प्रेस स्वतन्त्रता कुनै व्यक्तिविशेष वा पेशा विशेषको मात्रै होइन, यो आम नागरिकको सूचनाको हकसँग गाँसिएको संवैधानिक अधिकार हो । यसको संरक्षण सरकार, संचारगृह, नागरिक समाज र सम्पूर्ण नागरिकहरूको साझा जिम्मेवारी हो ।
यस दिवसको अवसरमा हामी सबै पक्षलाई प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न आह्वान गर्दछौं । साथै, पत्रकारहरूले पनि पेशागत आचारसंहिताको पालनासहित स्वतन्त्र, निडर र जिम्मेवार पत्रकारिता मार्फत लोकतन्त्र सुदृढ पार्ने दिशामा क्रियाशील रहनु आवश्यक छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जिन्दावाद ।
रमेश कुमार बोहोरा
सचिव
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ