बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • भारत–पाकिस्तान युद्धको छायाँमा गोर्खा सैनिकका परिवार : “भगवान्, मेरो बुढालाई बचाइदेऊ”

भारत–पाकिस्तान युद्धको छायाँमा गोर्खा सैनिकका परिवार : “भगवान्, मेरो बुढालाई बचाइदेऊ”


गणेश विक


काठमाडौं । सीमामा बन्दूक पड्किएको आवाज सुन्नु ठूलो कुरा हो, तर घरभित्र नारीको चुपचाप पीडा सुन्नु अझ ठूलो हो।

पछिल्ला केही दिनदेखि भारत र पाकिस्तानबीचको युद्धले केवल सीमामा मात्र होइन, हजारौं गोर्खा सैनिकका नेपाली परिवारका हृदयभित्र पनि आँधी मच्चाइ रहेको छ।

युद्धको धुँवा त्यहाँको आकाशमा फैलिएको छ, र पीडाको धुँवा यहाँका आमाहरूको मुटुमा।

त्यही पीडामध्ये एक सैनिकक श्रीमतीले सामाजिक सञ्जालमा भाईरल म्यासेजले अहिले हजारौँ नेपालीहरुकाे आँखाबाट आँसु जरेकाे छ भने परेला भिजिरहेको छ।

एक सैनिककी श्रीमतीले लेखेकी छिन :-

“भर्खर मुना जस्तो छोरी जन्मेको छ… भगवान, मेरो बुढालाई हिम्मत दिनु… सुरक्षा गरिदिनु…”

यी शब्दहरू पढ्दा कुनै पृष्ठ होइन फाटेको मुटु झल्किन्छ। एउटा शिशुको ‘बाबा’ भन्ने पहिलो बोली, नपुगेको काख, र अब अझै आउन बाँकी आँशुहरू थुप्रिएको छन्।

सीमामा गोर्खा सैनिक लडिरहेका छन्।
गोलीसँग, बमसँग, मृत्युको आँखासँग।

तर घरमा उनकी श्रीमती लडिरहेकी छिन्।
सुनसान रातसँग, अनुत्तरित फोनसँग, र चुकचुकाउँदो मनसँग।

यी शब्दहरू केवल सन्देश होइनन्। यी त एक आमा, एक पत्नी र एक प्रतीक्षारत आत्माको आर्तनाद हुन्। युद्धका समाचारमा हामी कहिले गोली गन्यौं, कहिले सहिदहरूको नाम लेख्यौं। तर त्यो समाचारभित्र कुनै महिलाको रातभर बलेको दियो, छोरीको निद्रामा आएका ‘बाबा’ का सपना, र मनभित्र गनगनाइरहेको आशंका कहिल्यै देखिएन।

आज म यो लेख लेख्दैछु…!
तर मेरो आँखा शब्दहरू हेर्दै होइन, एउटी आमाको अनुहार कल्पिँदै डम्म आँशुले भरिएको छ।

त्यो आमा जसले आफ्नो पेटबाट जन्मिएको छोरालाई कहिल्यै बाउको काँधमा राख्न नपाउने हुन सक्छ।

त्यो पत्नी जसको सिन्दुर अझ रातो छ, तर मुटु शोकमा कालो बनिसकेको छ।

युद्धले सीमा जित्ला… तर ती आँशुले हारेको देशको गणना को गर्छ ?

गाउँको एक कुनामा एउटा नारी दुई हात उठाएर चुपचाप भन्न थाल्छिन्।
“हे पशुपतिनाथ… मेरो बुढा फर्काइदेऊ न…”

ती शब्दभन्दा गहिरो त्यो मौनता छ । जुन संसारका सबै युद्ध घोषणाहरूभन्दा ठूलो हुँदो रहेछ।

गोर्खा सैनिकहरू, ती बहादुर नेपाली छोराहरू, जसले नेपाली भूमि छोडेर परदेशको सीमामा ज्यानको बाजी लगाइरहेका छन्। जसले गोलीको छायाँमा देशको झण्डा उचालिरहेका छन्। तर उनीहरूको घर भने आज डर, छटपटाहट र एक किसिमको चुपचाप बलिदानले भरिएको छ।

पत्रकारको हैसियतमा म लेखिरहेछु,
तर आज यो कलमले केवल समाचार लेखिरहेको छैन।

यो एउटा नारीको रुँदै गरेको मुटुको धडकनलाई शब्द दिइरहेको छ।

के युद्धले कहिल्यै न्याय दिन सक्छ ?
के युद्ध जितेपछि त्यो नारीको आँसु फर्किन्छ ?
के सहिदको तस्बिरलाई टाँसेर मुना जस्तो छोराले आफ्नो बाबाको माया पाउँछ ?

सामाजिक सञ्जालमा पोखिएका गोर्खा परिवारका ती म्यासेज च्याटहरु कुनै समाचारको मात्र भाग होइनन् ।

ती त इतिहासका मौन आँशु हुन्, जसले बारुदको आवाजभन्दा धेरै गहिरो चोट दिन्छ।

हामी समाचारहरु तथ्य लेख्छौं।
तर कहिलेकाहीँ त्यो तथ्यभित्र गुम्सिएको भावना पनि लेख्नु पर्छ।
किनभने, पीडा पनि खबर हो। र कहिलेकाहीँ त्यो खबर मनदेखि लेख्नुपर्छ, मस्तिष्कभन्दा अगाडि।

भगवान् पशुपतिनाथले गोर्खा छोराहरूको रक्षा गरून्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत