काठमाडौं, पेरिसडाँडा — नेपालका जनयुद्धका महान सहिद नारण सिङ्ग तामाङ्गको २७ औं स्मृति दिवस नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कार्यालय पेरिसडाँडामा भव्य रूपमा सम्पन्न भएको छ। सहिद तथा बेपत्ता योद्धा स्तम्भमा दीप प्रज्वलन गर्दै कार्यक्रम आरम्भ गरिएको थियो।
कार्यक्रमको प्रमुख अतिथि तथा नेकपा (माओवादी केन्द्र) की केन्द्रिय सदस्य बन्दना सुवेदीले सहिद तामाङ्गको योगदानको उच्च सम्मान गर्दै भनिन्, “सहिद तामाङ्गले नेपालको सामाजिक, राजनीतिक रूपान्तरणका लागि आफ्नो जीवन उत्सर्ग गर्नु भएको हो। उहाँको बलिदानले नै आज हामी गणतन्त्रात्मक, संघीय लोकतान्त्रिक नेपाल निर्माण गर्न सक्षम भयौं।”
कार्यक्रममा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन र अखिल (क्रान्तिकारी) को सहिद सन्तति विभागको संयुक्त आयोजनामा केन्द्रिय अध्यक्ष तथा अखिल (क्रान्तिकारी) का उपाध्यक्ष सन्दिप पुन, बागमती प्रदेश अध्यक्ष सुदिप तामाङ्ग लगायतले मन्तव्य राख्दै सहिद नारण सिङ्ग तामाङ्गको जीवन दर्शन, साहस, संगठनात्मक भूमिका र ऐतिहासिक योगदानलाई स्मरण गरे।
उनीहरूले सहिद तामाङ्गको बलिदान गणतन्त्र स्थापनाका लागि निर्णायक रहेको उल्लेख गर्दै भने, “उहाँजस्ता सहिदहरुको त्यागकै कारण नेपालमा राजतन्त्र अन्त्य भई संघीय गणतन्त्रात्मक व्यवस्था स्थापित भएको हो। तर अझै पनि सहिदहरुको सपना पुरा भएको छैन। हामीले सहिदको सपना अनुरूप समतामूलक, समानतामूलक समाज निर्माणमा लाग्नु आवश्यक छ।”
कार्यक्रमको सञ्चालन फाउन्डेसनका महासचिव तथा अखिल (क्रान्तिकारी) का उपमहासचिव जटिल कार्कीले गरेका थिए। कार्यक्रममा फाउन्डेसनका पूर्व अध्यक्ष नविन पोखरेल, अखिल (क्रान्तिकारी) का उपाध्यक्ष अटल आचार्य, महासचिव रोशन थापा मगर, सचिव तथा विभाग प्रमुख युन्छोहाङ माबो, प्रेस सेन्टरका केन्द्रिय सदस्य जुना तामाङ्ग, बागमती प्रदेश सचिव रामकुमार तामाङ्ग लगायत विभिन्न नेताहरुको उपस्थिती रहेको थियो।
स्मृति कार्यक्रममा सहिद नारण सिङ्ग तामाङ्गका छोरा बुद्धिमान तामाङ्गले बोलेका थिए, “मेरो बुवाको बलिदान कुनै व्यक्तिगत हितका लागि थिएन, त्यो सम्पूर्ण नेपाली जनताको अधिकारका लागि थियो। हामी सन्ततिहरु उहाँको सपना साकार पार्न निरन्तर संघर्षरत छौं।”
सहिद नारण सिङ्ग तामाङ्ग जनयुद्धका अग्रणी योद्धा थिए, जसले वर्गीय शोषण, जातीय विभेद, क्षेत्रीय असमानता तथा लैङ्गिक उत्पीडन विरुद्ध आवाज उठाए। उहाँले नेपालमा संघीयता स्थापना गर्नुपर्ने धारणा जनयुद्धको आरम्भिक चरणमै उठाउनुभएको थियो। तामाङ्ग समुदायबाट आएका उहाँजस्ता योद्धाहरुले राष्ट्रियताको पुनर्परिभाषा, पहिचानको अधिकार र समाजवादी परिवर्तनका लागि दृढ संकल्पसहित संघर्ष गरेका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ