काठमाडौं । नेपाल प्रहरीमा बढुवाका लागि शक्तिकेन्द्रकै भर पर्नुपर्ने स्थिति आएको छ । शक्तिकेन्द्रनिकट बिचौलियाहरु हाबी हुँदा एक महिनादेखि रिक्त रहेको (११ वटा) प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा अन्यौलमा परेको छ ।
एसएसपीको बढुवा सिफारिस समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष रहने व्यवस्था छ । यस्तै बढुवा सिफारिस समितिमा प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा र मानवस्रोत विभागका एआईजी सदस्य रहने व्यवस्था छ ।
प्रहरी प्रधान कार्यालय संगठनमा रिक्त रहेका पदहरुमा तत्काल बढुवा गर्नुपर्ने पक्षमा छ । सोहीअनुरुप संगठनभित्र विवादरहित, अब्बल र बरियताअनुसार एसएसपी बढुवाका आकांक्षीहरुको नामावलीसमेत गृहमा पठाइसकेको छ । तर, उक्त नामावलीमा गृहको असहमति रहेको स्रोत बताउँछ ।
कारण, विवादित र कमजोर क्षमताका प्रहरी उपरीक्षक (एसपी)हरुको चलखेल । गृहमन्त्री रमेश लेखकले ती विवादित र कमजोर क्षमताका एसपीहरुलाई बोक्दा एसएसपी बढुवा अन्यौलमा परेको हो । शक्तिकेन्द्रनिकट बिचौलियाहरुले समेत बढुवामा हालीमुहाली गरेका छन् ।
त्यसैले अहिले नेपाल प्रहरीको एसपीबाट एसएसपी बढुवा गर्न विवादित र कमजोर अधिकृतहरुको बाहुल्यता रहेको चर्चा छ । आफ्नो कार्यकालमा विवादित छवि बनाएका एसपीहरु एसएसपी बढुवाको लागि निकै दौडधुप गरिरहेका छन् ।
को-को हुन् त त्यस्ता विवादित एसपीहरु
१. विमल बस्नेत
अहिलेको एसपी बढुवाको पहिलो नम्बरमा विमल बस्नेत देखिएका छन् । राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका बस्नेतको पाँच वर्षे कारवाही फुकुवा भएको छैन् ।
२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका बस्नेत आफ्नो ब्याचका सबै प्रहरी अधिकृतहरु एसएसपी भइसक्दा पनि एसपी नै छन् ।
एसपी बस्नेत आर्थिक अनियमितताको आरोपमा निलम्बनमा समेत परेका अधिकृत हुन् । तर, एसपी बस्नेत समेत अहिले बढुवाको लागि केही बिचौलियाहरुको घरमा पुग्ने गरेको स्रोत बताउँछ ।
२. कमल थापा
त्यस्तै २०५८ का टोलीका कमल थापा समेत संगठनमा विवादित अधिकृत हुन् । एसपी थापा हनी ट्रयापको काण्डमा मुछिएका अधिकृत हुन् । व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनीमाथि अनुसन्धानन भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा कार्यरत रहेको बेला थापालाई अख्तियारबाट प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएर अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी दिपेन्द्र जिसीको नेतृत्वमा छानबिन समिति नै गठन गरेको थियो ।
उनै विवादित थापा अहिले जसरी पनि बढुवा हुन खोजिरहेका छन् । बिचौलियामार्फत नै थापाले पनि अहिले बढुवाको लागि चर्को दौडधुप गरेका छन् ।
३. दिपक पोखरेल
यस्तै थापाकै ब्याचका एसपी पोखरेल समेत विवादित र कमजोर क्षमताका प्रहरी अधिकृत हुन् । पोखरेललाई शक्ति केन्द्रको आडमा घर पायक पूर्वी क्षेत्रमा बसेर राज्यशक्तिको दोहोन गरेको आरोप समेत लाग्ने गरेको छ ।
सुनसरी मोरङलगायतमा जिल्लामा पालैपलो विभिन्न यूनिट बिताएका पोखरेलले प्रहरी कर्मचारी, सवारी साधान तथा संगठनलाई दिनुपर्ने समय निजी जीवनलाई दिएर ड्रागन खेती गर्नमा लगाएको आरोपका कारण उनको बढुवा रोकिने सम्भावना रहेको छ ।
प्रहरी संगठनलाई भन्दा आफ्नो व्यवसायालाई प्राथमिकतामा राख्ने गरेको पोखरेल अहिले कोशी प्रदेशका केही नेताहरुको फेरो समाएर एसएसपी बन्ने दाउमा छन् । तर, उनीप्रति प्रहरी नेतृत्व सकारात्मक नरहेको बुझिएको छ ।
४. प्रकाश रानाभाट
यस्तै प्रकाश रानाभाट समेत विवादित प्रहरी अधिकृत हुन् । उनी पनि जिल्ला प्रहरी कार्यालय धनुषामा हुँदा आर्थिक विवादमा तानिएका अधिकृत हुन् ।
जतिबेला एसपी रानाभाटले लागूऔषध मुद्दामा पक्राउ परेका आरोपीहरुको मिसिल मिलेमतोमा कमजोर बनाएको आरोप लागेको थियो । उनीमाथि अनुसन्धान गरेर कारबाही गर्न भन्दै महान्यायाधीवक्ता कार्यालयले समेत प्रहरीलाई पत्राचार गरेको थियो ।
त्यसपछि उनीमाथि छानबिन सुरु भएको थियो । त्यस्तै जनकपुरधामस्थित खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख राजेश कुशवाहालाई सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले अर्धनग्न बनाएर बजार घुमाए पनि प्रहरीले केही गर्न नसकेको भन्दै जतिबेला उनको आलोचना समेत भएको थियो ।
यसरी कमजोर कमाण्डिङ क्षमताका उनी पनि अहिले एसएसपी बढुवाको लागि चर्को लबिङ गरिरहेका छन् ।
५. प्रविण धिताल
यस्तै २०५८ कै टोलीका एसपी धिताल प्रहरी संगठनमा कमजोर क्षमताका अधिकृतका रुपमा चिनिन्छन् ।
२०७५ मा बझाङमा डिएसपी धिताल जुवा खेलाएकाे अडियो सार्वजनिक भएको थियोे ।
भाद्र ३० गतेका दिन सदरमुकाम चैनपुरको विच भागमा रहेको माउन्टेन भ्यु होटेलमा जुवा खेल्दै गरेको अवस्थामा ८ जना जुवाडे सहित होटेलमालिकलाई प्रहरीले पक्राउ ग¥यो ।
उनिहरुको साथबाट ४ लाख २५ हजार नगद समेत बरामद गरिएको थियो । । पक्राउ परेका जुवाडेलाई १० दिन थुनामा राखे पछि दुई जनालाई जनही ७४ हजार र अरुलाई जनही २२ हजारका दरले धरौटीमा रिहा गरिएको थियो ।
ति जुवाडे छुटेको दिनबाटै बाजुरा घर भएका प्रहरी हवल्दार नरबहादुर खड्कालाई सादा पोसाकमा घुमुवाको रुपमा खटाएर उनिहरु सँगै बार्गेनिङ गर्न लगाएको र पहिला भन्दा दोब्बर बढी रकम असुलेर प्रहरी कै संरक्षणमा जुवा धन्दा संचालन गरेको तथ्य सार्वजनिक भएको छ ।
घुमुवा प्रहरी हवल्दार खड्का र डिएसपी धिताल विच भएको कुराकानीको दुईवटा टेलिफोन रेर्कड सार्वजनिक भएको थियो ।
पहिलो टेलिफोन रेर्कडमा खड्काले डिएसपी धिताललाई ‘आज गेम बनाउने भन्दैछन के गरौ सर ?’ भनेर सोधेका छन । त्यस समय काठमाण्डौमा रहेका धितालले खड्कालाई सोध्दै भन्छन ‘बजार भित्रै?’, ‘भित्रै भन्नाले यसो छेउछाउमा सर’ खड्का जवाफ फर्काउछन । ‘अँ हुन्छ’ डिएसपी धिताल भन्छन ।
फेरी खड्काले तत्कालिन प्रहरी प्रमुख रहेका इन्सपेक्टरले सइको कमाण्डमा प्रहरी परिचालन गर्न लागेको जानकारी आफुलाई आएको खड्काले डिएसपीलाई बताए पछि डिएसपीले बजार बाहिर कतै सुरक्षित स्थानमा लगेर जुवा खेलाउन खड्कालाई निर्देशन दिएका थिए । उक्त बिषयमा समाचार लेखेको भन्दै पत्रकार गणेश विकलाई मुद्दा दायर समेत गरेको थियोे ।
सर्लाही जिल्लाका प्रहरी प्रमुख रहेको बेला काम गर्न नसकेको भन्दै धिताललाई ४ महिनामै तानिएको थियो ।
जतिबेला सर्लाहीमा रहँदा एसपी र डिएसपी दिपेन्द्र पंजियार थारुले शान्ति सुरक्षा कायम गर्न नसकेको गुनासो स्थानीयहरुले नै गरेका थिए । दुवै जना प्रहरी अधिकृत व्यावसायिक रुपमा गैरजिम्मेवार रुपमा प्रस्तुत भएको स्थानीयहरुको आरोप थियो ।
एसपी धितालको कमाण्ड कमजोर र फितलो देखेपछि अपराध कार्यमा संलग्न अपराधीहरुलाई प्रहरीले पक्राउ गर्न असफल भएको थियो । त्यतिमात्र नभएर उनले तस्करीको लाइन निर्वाध र खुल्ला रुपमा संचालन गरेको आरोप समेत लागेको थियो ।
उनै धितालसमेत अहिले बिचौलियाहरुमार्फत एसएसपी बन्न लागिपरेका छन् ।
६. राकेश सिंह
यस्तै २०५६ टोलीका राकेश सिंह समेत कमजोर र विवादित अधिकृत हुन् । सिंह धादिङ बस्दा आर्थिक विवादमा मुछिएका थिए । क्रसर व्यवसायीहरुबाट पैसा असुली गरेको आरोप सिंहमाथि लागेको थियो ।
उनै एसपी सिंह अहिले प्रहरी नेतृत्वलाई रिझाएर एसएसपी बन्ने दौडमा छन् । त्यतिमात्र नभएर उनले केही बिचौलियाहरुलाई जुनसुकै अवस्थामा पनि एसएसपी बन्नुपर्ने भन्दै हिँडेका छन् ।
७. केदार खनाल
त्यस्तै केदार खनाल समेत अहिले एसएसपीको दौडमा लागिपरेका छन् । उनी गोरखा बस्दा विवादमा तानिएका अधिकृत हुन् । आफ्नो काममा भन्दा क्वार्टरभित्रै बसेर रमाउने स्वभावका खनाल आर्थिक विवादमा समेत क्लियर छैनन् ।
तर, अहिले उनी केही बिचौलियालाई बोकेर एसएसपी बन्ने दौडमा छन् ।
८. चक्रराज जोशी
यस्तै २०७८ मंसिरमा मात्रै एसपी भएका चक्रराज जोशी समेत एसएसपीको लाइनमा देखिएका छन् । सुपको नाता लगाएर जोशी बढुवाको लागि दौडधुप गरिरहेका छन् । कञ्चनपुर प्रहरी प्रमुख रहेको बेला जोशी यसअघिको बढुवामा विदा लिएर मन्त्रालय धाएका थिए ।
७ वर्ष सिनियर एसपीहरुलाई बाइपास गरेर उनी अहिले सूपको नाता जोडेर गृहमन्त्रीलाई दबाब दिने गरेको स्रोत बताउँछ । जबकी उनी आफैंमा कमजोर क्षमताका अधिकृत हुन् ।
९. जनक शाही
यस्तै सुपको नाता लगाएर जनक शाही पनि बढुवाको लागि दौडधुप गरिरहेका छन् । जिल्ला प्रमुख रहेको बेला शाहीसमेत यसअघिको बढुवामा विदा लिएर मन्त्रालयमा आएका थिए । जतिबेला उनले चर्कै जोडबल गरेका थिए ।
अहिले पनि उनले गृहमन्त्री लेखक र सुपका केही बिचौलियाहरुमार्फत एसएसपी बन्ने दौडमा लागिपरेका छन् । यस्तै अर्जुनप्रसाद तिमिल्सिना र रमेश पण्डित समेत जुनियर एसपीहरु हुन् । उनीहरु पनि नेताहरुको फेरो समातेर एसएसपीको प्रतिस्पर्धामा छन् ।
०००
विभिन्न चरणमा एसपी भएका ११ जना मात्रै बढुवा हुने हुन् । सरकारले प्रहरीमा कहिले वरीयता अनुसार र कहिले छानीछानी बढुवा गर्दै आएको छ । यसपटक पनि बरीयतालाई आधार मान्छ कि अब्बललाई समेट्छ भन्ने टुंगो छैन ।
तर, अहिले हुन लागेको बढुवामा योग्यलाई पछाडि पारेर जुनियर व्याचलाई अगाडि ल्याउन खासगरी गृहमन्त्रीको सचिवालयमा रहेको एउटा समूह लागिपरेको छ । गृहमन्त्रीको स्वकीय सचिवालयमा रहेका जनक भट्ट लगायतको टोली लागिपरेको स्रोतको दाबी छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ