बाढीका कारण रसुवामा २ सय मेगावाट विद्युत् उत्पादन बन्द
रसुवामा आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गत सञ्चालनमा रहेका विभिन्न जलविद्युत् परियोजनाबाट उत्पादन हुने करिब २ सय मेगावाट विद्युत् आपूर्ति बन्द भएको छ।
प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बाँधको एउटा गेट बाढीले बगाएको छ।
त्यस्तै, सोही आयोजनाअन्तर्गतको पुलमा पनि क्षति पुगेको छ। पुलमा चिरा परेको कारण आवतजावत पूर्णरूपमा बन्द भएको उनले जानकारी दिए।
हालसम्म टेलरेसमा ठूलो भौतिक क्षति नभए पनि गेग्रान (ढुंगा माटो) थुप्रिएको बताइएको छ। यद्यपि पावरहाउस भने सुरक्षित रहेको शाक्यले बताए।
यसैगरी, ६० मेगावाट क्षमताको त्रिशूली ३-ए जलविद्युत् आयोजनामा पनि बाढीको असर परेको छ।
हालसम्म त्यहाँ भएको क्षतिको सम्पूर्ण विवरण प्राप्त नभए पनि भवनमा बाढी पसेको पुष्टि गरिएको छ।
त्रिशूली ३-बी सबस्टेसन हिलोले ढाकिएको छ, जसले गर्दा आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको हो।
यता, चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसमा पानी छरे पनि अहिलेसम्म ठोस क्षति नभएको जानकारी दिइएको छ।
तर, त्रिशूली किनारमा रहेको प्रसारण लाइनको एउटा बाइपास टावर बाढीले बगाएको शाक्यले बताए।
यी आयोजनाहरूबाट उत्पादन बन्द भएपछि त्रिशूली करिडोरअन्तर्गतका कुल २ सय मेगावाट विद्युत् उत्पादन रोकिएको प्राधिकरणले जनाएको छ।

