बुधबार, फाल्गुन ६, २०८२

प्रचण्ड नै प्रधानमन्त्री बन्छन् : नेता दयालबहादुर शाही


देव चौलागाईं


नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा सदस्य दयालबहादुर शाहीले कांग्रेस र एमाले दुवैले बेइमानी गरे पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।

प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता शाहीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने हिसाबले कांग्रेस र एमाले दुबैले एक–अर्कासँग धोका नदिने बताएका हुन्।

उनका अनुसार, प्रधानमन्त्री बन्ने उद्देश्यले प्रचण्डले अहिलेको गठबन्धनमा दरार ल्याउने प्रयास गरिरहेका छन्।

“प्रचण्डले कांग्रेस र एमालेलाई बल्छीमा पार्न जाल बुनिरहेका छन्,” भन्दै शाहीले भने, “सरकार ढल्नेबित्तिकै प्रधानमन्त्री प्रचण्ड नै हुन्। एमालेले बेइमानी गरे पनि कांग्रेसले उनलाई समर्थन गर्छ। कांग्रेसले बेइमानी गरे पनि एमाले प्रचण्डकै साथमा जान्छ।”

शाहीका अनुसार, प्रचण्डको मूल रणनीति नै कांग्रेस–एमालेबीचको द्वन्द्वबाट आफ्नो ३२ सिटको ‘जादु’ देखाउनु हो।

तर उनले थपे, “जति जाल बुने पनि कांग्रेस र एमाले माछा होइनन्, प्रचण्डको जालमा पर्नेवाला छैनन्।”

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि नेता शाहीको कटाक्ष : “दशा लागेर राजनीति फर्किइन्”

अन्य प्रसंगमा, नेता शाहीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दशा लागेर फेरि राजनीतिमा फर्किएको टिप्पणी गरेका छन्।

“ओलीसँग टकराउने धेरै नेतामा दशा लागेको छ — माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड… अब त्यसैगरी विद्यादेवी भण्डारीलाई पनि दशा लागेको ठान्नुस्,” उनले भने,

“उहाँले आराम गर्ने ठाउँ रोज्नुपर्नेमा किन राजनीति फर्किने बाटो रोज्नुभयो? अचम्म लागेको छ।”

एमालेमा फर्किएर अध्यक्ष बन्ने चर्चा सम्बन्धी प्रश्नमा शाहीले विद्यादेवी भण्डारी ओलीका लागि सबैभन्दा ‘सस्तो’ चुनौति भएको टिप्पणी गरे।

“ओलीले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, प्रचण्डजस्ता गम्भीर चुनौतीहरू सामना गरेर आएका छन्। त्यसैले विद्या भण्डारी र ईश्वर पोखरेलको यो नाटक पाँच/छ महिनाभन्दा नटिक्ने हो,” उनले दोहोऱ्याए।

“यो पानीका फोकाजस्तै हो, छम्किन्छ र सकिन्छ। प्रचण्डजस्तो आकारको चुनौती होइन,” शाहीले थपे,

“एमालेजस्तो तीव्र राजनीतिक शक्ति अरु छैन। बाहिर माधव, झलनाथ, वामदेव, प्रचण्ड मादल ठोकिराख्नुभएको छ, ईश्वर पोखरेल र विद्या भण्डारी नाचिराख्नुभएको छ। तर यो नाटक धेरै टिक्दैन।”



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत