लुम्बिनी युनेस्कोको खतराको सूचीबाट हट्यो
विश्व सम्पदामा सूचीकृत लुम्बिनी युनेस्कोको संभावित खतराको सूचीबाट हटाइएको छ।
फ्रान्सको पेरिसमा सम्पन्न युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७औँ अधिवेशनले लुम्बिनीमा संरक्षणमैत्री काम र सुधारका प्रयासहरू भइरहेकाले एक वर्षका लागि खतराको सूचीमा नराख्ने निर्णय गरेको हो।
बैठकको अध्यक्षता बुल्गेरियाका प्रोफेसर निकोले नेनोवले गरेका थिए।
युनेस्कोले लुम्बिनीको वर्तमान अवस्था थप अवलोकन गर्नका लागि पुनः ‘रिएक्टिभ मनिटरिङ मिसन’ पठाउने निर्णय पनि गरेको छ।
यसअघि सन् २०२२ मा युनेस्कोको वर्ल्ड हेरिटेज सेन्टर र इकोमोसले सम्पदाविज्ञ रोलेन लिन र प्रोफेसर कारिया सम्मिलित टोली पठाएको थियो।
उक्त टोलीले तयार पारेको प्रतिवेदनको आधारमा सन् २०२४ मा लुम्बिनीलाई सम्भावित खतराको सूचीमा राखिएको थियो।

