बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • १० हजारको लोभमा किशोरीहरूको शरीरमाथि खेलबाड, स्वास्थ्यको सट्टा व्यापार बन्यो फर्टिलिटी सेवा

१० हजारको लोभमा किशोरीहरूको शरीरमाथि खेलबाड, स्वास्थ्यको सट्टा व्यापार बन्यो फर्टिलिटी सेवा


कान्तिपथ


काठमाडौं । सन्तान सुखको अभिलाषामा आउने निःसन्तान दम्पतीहरूको भरोसामा खुलेको काठमाडौंस्थित होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्रालिले संगठित दलालमार्फत आर्थिक प्रलोभनमा पारेर १८ वर्षमुनिका किशोरीहरूको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको खुलासा भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रारम्भिक अनुसन्धानले यो संवेदनशील विषयलाई बाहिर ल्याएको हो।

सीआईबीको अनुसन्धान अनुसार यो फर्टिलिटी सेन्टरले दलालहरू मार्फत आर्थिक रूपमा कमजोर र १८ बर्ष कम उमेरका किशोरीहरूलाई लक्षित गर्दै प्रजनन क्षमताको जोखिममा पार्ने कार्य गरेको देखिएको छ।

डिम्ब संकलनको नाममा उनीहरूलाई हर्मोनल सुई दिइन्थ्यो, बेहोस बनाई शरीरबाट डिम्ब निकालिन्थ्यो, र सो डिम्ब निःसन्तान दम्पतीलाई उच्च मूल्यमा बेचिन्छ।

पीडित किशोरीहरूका अभिभावकले आफ्ना छोरीहरूलाई प्रलोभनमा पारेर डिम्ब निकालिएको भन्दै प्रहरीमा जाहेरी दिएपछि घटना बाहिरिएको हो।

दलालहरूको संलग्नता र आर्थिक प्रलोभन

दलालहरूले प्रत्येक किशोरीको खोजीमा २० हजार रुपैयाँसम्म पाउने र डिम्ब दिन तयार पारिएकी किशोरीलाई १० हजार रुपैयाँसम्म दिने गरिन्थ्यो।

सस्तो लालचमा पारिएका किशोरीहरूलाई १० दिनसम्म हर्मोन इन्जेक्सन दिइन्थ्यो, जसले डिम्बाशयमा डिम्बको संख्यामा अप्राकृतिक वृद्धि ल्याउँथ्यो। पछि उनीहरूलाई बेहोस बनाएर डिम्ब निकालिन्थ्यो।

किशोरीमाथिको खेलबाड : कानुनी, नैतिक र स्वास्थ्य संकट

नेपालमा डिम्ब दानसम्बन्धी स्पष्ट कानुनी प्रावधान नहुँदा यसरी प्रजनन स्वास्थ्यको गम्भीर उल्लङ्घन हुने अवस्था देखिएको हो।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिम्ब दाताको रूपमा विवाहित र कम्तीमा एक सन्तान जन्माइसकेकी महिला हुनुपर्ने प्रावधान छ। यसको मुख्य उद्देश्य डिम्ब दानबाट दाताकै प्रजनन क्षमतामा दीर्घकालीन असर नपरोस् भन्ने हो।

तर होप फर्टिलिटी सेन्टरले यी मापदण्डको पूरै उल्लङ्घन गर्दै कलिला, १८ वर्षमुनिका किशोरीहरूलाई लक्षित गरिरहेको भेटिएको छ। यसले उनीहरूको भविष्यमा सन्तान जन्माउने क्षमता, हार्मोन प्रणाली, शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।

अनुसन्धानमा पक्राउ, तर कानूनको अस्पष्टताले छुट

जाहेरी परेपछि सीआईबीले सेन्टरका सञ्चालक जस्टिना प्रधान, डा. असिम अधिकारी, डा. स्वस्ती शर्मा, मालिनी चौधरी र एलिसा ओलीलाई नियन्त्रणमा लिएको थियो। तर, जिल्ला सरकारी वकिलको कार्यालयको निर्देशनमा उनीहरूलाई हाजिर जमानीमा छाडिएको छ।

ब्यूरो प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार प्रारम्भिक अनुसन्धानमै सेन्टरले अवैध गतिविधि गरेको पुष्टि भइसकेको छ। ‘१० दिनसम्म हर्मोन सुई दिने, त्यसपछि लठ्याएर डिम्ब निकाल्ने अनि केही पैसा दिएर त्यति ठूला स्वास्थ्य संकट निम्त्याउने,’ उनले भने।

कानुनी तथा नैतिक हिसाबले डिम्ब दानका लागि कडा मापदण्ड तोकिएको हुन्छ। दाता विवाहित र कम्तीमा एक सन्तानकी आमा भइसकेको हुनुपर्ने प्रावधान छ, ताकि भविष्यमा उनको प्रजनन क्षमतामा कुनै असर नपरोस्।

तर, होप फर्टिलिटीले यी सबै मापदण्डलाई लत्याउँदै कलिला किशोरीहरूलाई निशाना बनाएको थियो, जसले उनीहरूको भविष्यको प्रजनन स्वास्थ्यमा दीर्घकालीन असर पार्नसक्ने देखिन्छ।

सरोगेसीको शंकासमेत

जानकारहरूका अनुसार यस्ता फर्टिलिटी सेन्टरहरूले कानुनले रोक लगाएको सरोगेसी प्रक्रियाको आडमा यो व्यवसाय बढाइरहेका छन्। नेपालमा सरोगेसी प्रतिबन्धित छ। तथापि, डिम्बको अवैध संकलन र प्रयोग सरोगेसीकै उद्देश्यले भइसकेको शंका गहिरिएको छ।

डिम्बको संख्याबारे चिकित्सक स्रोतले स्पष्ट पारेका छन् कि “जति कम उमेर, उति बढी स्वस्थ डिम्ब पाइन्छ,” त्यसैले युवा किशोरीहरूलाई लक्षित गर्ने प्रवृत्ति बढ्दै गएको हो। यो प्रवृत्तिले न केवल ती किशोरीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पार्छ, तर यो नैतिकता र मानव अधिकारको गम्भीर उल्लङ्घन पनि हो।

निःसन्तान दम्पतीका लागि आशा बनेको भनिने फर्टिलिटी केन्द्रहरूले व्यापारिक स्वार्थका लागि किशोरीहरूको शरीरमाथि यस्तो अमानवीय प्रयोग गर्नु न केवल कानुनी अपराध हो, यो मानवीय मूल्य र गरिमामाथिको गम्भीर प्रहार हो। सम्बन्धित निकायले यस घटनालाई गम्भीर रूपमा लिएर कडा कारबाही गर्नुपर्छ, ताकि भविष्यमा अरू किशोरीहरूको स्वास्थ्य र भविष्य जोखिममा नपरोस्।

दलाल मार्फत दाताको खोजी गर्ने र उनीहरु अझ भर्खरका कलिला किशोरीहरुको डिम्ब निकालिएकाले पछिल्लो समय कानुनले वर्जित गरेको सरोगेसीमा सो डिम्बको प्रयोग हुने गरेको शंका बढाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत